पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

शान्तिप्रक्रियालाई टुंग्याउन अन्तराष्ट्रिय समुदायको सहयोग र समर्थन आवश्यक : प्रधानमन्त्री प्रचण्ड

२०८० आश्विन ७, आइतवार १९:३७ बजे

बेइजिङ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्तिप्रक्रियालाई टुंग्याउन फेरि एकपटक अन्तराष्ट्रिय समुदायको सहयोग र समर्थन आवश्यक रहेको बताएका छन् ।
मुलुकको शान्ति प्रक्रियासँग सम्बन्धित काम अब अन्तिम अवस्थामा रहेको भन्दै उनले त्यसमा अन्तराष्ट्रिय जगतको साथ खोजेका हुन् । चीन भ्रमणको क्रममा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘शान्ति प्रकिया शुरु गर्दा पनि अन्तराष्ट्रिय समुदायको समर्थन थियो, बाँकी काममा पनि चाहिन्छ ।’
अब सत्य निरुपण र बेपत्तासँग सम्बन्धित केही कुरा मात्र बाँकी रहेको उनको भनाइ छ । यो विषयलाई आफूले संयुक्त राष्ट्र संघको महासभामा पनि उठाएको उनले बताए । उनले भने ‘ हाम्रो शान्तिप्रक्रिया मौलिक छ, यसलाई विश्वमा उदाहरणीय बनाउनुपर्छ ।’
नेपालमा विस्तृत शान्ति सम्झौता हुनुअघि भूमिगत हुँदा सहयोग गरेको भन्दै उनले प्रोफेसर वाङलाई पनि सम्झिए । प्रचण्डको सम्बोधन क्रममा वाङ समेत कार्यक्रममा उपस्थित थिए ।
आफ्नो चीन भ्रमणका क्रममा कृषिको क्षेत्रमा कसरी सम्झनलायक उपलब्धि हासिल हुने उनले बताए । पहिलोपटक प्रधानमन्त्री हुँदा आफू बेइजिङ ओलम्पिकको समापन समारोहमा भाग लिएको र अहिले एसियाली गेमको उद्घाटनको अबसर परेको प्रधानमन्त्रीले बताए ।

 नेपालको आर्थिक विकास र समृद्धिको निम्ति सरकार र निजी क्षेत्रको बीचमा नयाँ आयाम शुरू गर्नुपर्छ भनेर आफूले शुरु गरेको उनले बताए । ‘सरकार एक्लैको पहलले समृद्धिलाई गति दिन सकिन्न । देशभित्रको साथसाथै विस्तारै देशबाहिरको निजी क्षेत्रसँग पनि सहकार्य हुँदैछ । लगानी आकर्षित गर्न नीतिगत र कानुनी जटिलतालाई सहजीकरण गरेका छौं,’ प्रधानमन्त्रीले भने । चिनियाँ लगानीलाई सुरक्षा गर्नेमा सरकार प्रतिबद्ध रहेको उनले बताए । राष्ट्रपति सी जिनपिङसँगको वार्ताले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको भन्दे उनले अझै मजबुत बनाउनेमा केन्द्रित हुनुपर्ने धारणा राखे ।