पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

भन्सार छलिको सामान भन्दै वीरगंजमा सशस्त्रको छापा, व्यवसायी कलवारको आपत्ति

२०८१ बैशाख ८, शनिबार १७:१४ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंज महानगरपालिका वडा नं.१० स्थित आदर्शनगरमा रहेको श्री दुर्गा रोड क्यारियर्स ट्रान्सपोर्टमा सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले छापा मारेर करिब ७० लाख रुपैयाँ मुल्य बराबरको दुई ट्रक मालसामान नियन्त्रणमा लिएको छ।

भन्सारमा खटिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा गएको टोलीले शनिवार बिहान आदर्शनगरमा रहेको श्रीदुर्गा रोड क्यारियर (ट्रान्सपोर्ट)मा छापा मारेर राजश्व छलीको आशंकामा विभिन्न किसिमको तस्करी गरेर भन्डारण गरिएका सामानहरु कपडा, काजु, स्टिलका भाँँडावर्तन, ग्याँस चुल्हा लगायतको सामानहरु बरामद गरेको हो । 

सशस्त्र प्रहरीले छापा मारेको श्री दुर्गा रोड क्यारियर्स (ट्रान्सपोर्ट) का सञ्चालक मदन प्रसाद कलवार हुन्।

सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बरामद गरिएका ती मालसामान राजश्व छली (तस्करी)को आशंकामा बरामद गरि भन्सार कार्यालयमा बुझाईएको बताएका छन्।

रिजालका अनुसार, शनिवार बिहान भारतको रक्सौल तिरबाट चार पोका कपडा बोकेर वीरगंज भित्रिएको एक अटो रिक्सालाई वीरगंज २ छपकैया स्थित ईदगाह चोकबाट पछ्याएको थियो। उक्त अटोरिक्सा आदर्शनगरस्थित श्री दुर्गा रोड क्यारियरमा पुगेर त्यसमा रहेको पोकाहरु उक्त क्यारियरको गोदामभित्र लगेर राख्ने क्रममा सशस्त्र प्रहरीको टोलीले छापा मारेको थियो । त्यसक्रममा दुई वटा गोदामभित्र भण्डारण गरि राखिएका करिब ७० लाख रुपैयाँको मालसामान बरामद गरि आवश्यक कारवाहीका लागि वीरगंज भन्सारमा ल्याइएको रिजालले बताए।

रिजालले भने,‘ तस्करीको सामान भेटिएपछि हामीले भन्सारका कर्मचारीलाई बोलायौं । त्यसपछि आवश्यक प्रकृया पुरा गरेर दुवै गोदामभित्र रहेका सामानहरु नियन्त्रणमा लियौं ।’

यता उक्त ट्रान्सपोर्टका सञ्चालक मदन कलवारले भने सशस्त्र प्रहरीले बरामद गरेर लगेका सामानहरु राजश्व छलीको नभएको दाबी गरेका छन् । सबै सामानको भन्सार प्रज्ञापनपत्र र भ्याट बील रहेको भन्दै मदन कलवारले बताएका छन्। सबै कागजात देखाउँदापनि सशस्त्र प्रहरीले गोदामको ताल्चा फुटाएर सामान लिएर गयो भनेर दु:खेसो गुप्ताले पोखेका छन्।

त्यसैगरी यता वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले भने सशस्त्र प्रहरीले नेपालको कानून मिचेर गोदामको ताल्चा फोडेर सामानहरु नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका छन् । उनले भने,‘ यदि कुनैपनि व्यवसायिक प्रतिष्ठान वा गोदाममा सरकारी निकायले छापा मार्छ र ताल्चा फुटाउनु पर्ने अवस्था आयो भने वडाअध्यक्षको रोहवरमा मुचुल्का उठाएरमात्रै ताल्चा तोड्नुपर्ने नियम कानुनमा छ । तर सशस्त्र प्रहरीले आफुलाई कुनै खबर नै नगरी गोदामको ताल्चा फुटाएर सामानहरु लगेको हो। यो कानूनको घोर उल्लंघन हो यस्तो कार्य प्रहरीले किन र कुन उदेश्यले गर्यो त्यसको खोजविन सम्बन्धित निकायले गर्नुपर्ने माग समेत गर्दै उनले म त्यहाँ पुग्दा गोदाम खाली गरेर सामान सशस्त्र प्रहरीले लगि सकेको रहेछ । सामान लगेपछि मात्रै मलाई सशस्त्र प्रहरीले फोन गरेको हो भनेर बताएका छन्। उता यो विषयमा सशस्त्र प्रहरी नायब उपरक्षिक रिजालसँग बुझ्दा उनले भने वडाध्यक्ष कानुलाई खबर गरेको थियौ तर उनि ढिला गरि घटनास्थलमा आएको बताए। रिजालले भने,‘ कहिलेकाँही क्वीक एक्सन लिदाँ सबै प्रकृया पुरा गर्न भ्याइदैन तैपनि हामीले गोदाममा खानतलासी लिनुपूर्व प्रकृया अनुसार एउटा सूचना टाँस गरेका थियौं । त्यसपछि मात्रै गोदाममा खानतलासी गरेका थियौं । अर्को कूरा गोदाम खुल्लै थियो । ताल्चा लगाइएको थिएन।

सशस्त्र प्रहरीले पछ्याँउदै आएको अटोमा लोड रहेको सामान ट्रान्सपोर्टको गोदाममा लगेर राख्दै गरेको भेटिएपछि मात्रै गोदाममा छापा मारेर खानतलासी गरिएको उनले बताए ।यसअघि एक महिना पहिलेपनि नेपाल प्रहरीले त्यहि ट्रान्सपोर्टमा छापा मारेर करिब १५ लाख मूल्यको १६ पोका कपडा बरामद गरेको थियो।