पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

चीनले दुई महिना बेपत्ता भएपछि रक्षामन्त्री ली साङ्फुलाई हटायो

२०८० कार्तिक ८, बुधवार ०५:३४ बजे

काठमाडौं- दुई महिना बेपत्ता भएपछि चीनले रक्षामन्त्री ली साङ्फुलाई हटाएको छ ।

चीनका रक्षामन्त्री ली साङ्फु सार्वजनिक दृश्यबाट बेपत्ता भएको दुई महिनापछि मङ्गलबार बर्खास्त भएका छन् र हालसालै कुनै आधिकारिक स्पष्टीकरण बिना आफ्नो जागिर गुमाउने दोस्रो हाई प्रोफाइल मन्त्री बनेका छन्।

राज्य नियन्त्रित सिसिटिभी को मंगलबार प्रसारण भएको एक रिपोर्ट अनुसार लीलाई केन्द्रीय सैन्य आयोगको सदस्यको रूपमा पनि हटाइएको छ । यो आयोग चिनियाँ नेता सी जिनपिङको नेतृत्वमा रहेको एक शक्तिशाली निकाय हो, जसले सशस्त्र सेनाको कमाण्ड गर्दछ । यस आयोगको केन्द्रिय सदस्य पद चीनको पाँच राज्य काउन्सिलरहरू मध्ये एकको रूपमा मन्त्रिपरिषदमा एक उच्च पद हो। 

सीसीटीभीका अनुसार देशको व्यवस्थापिका- राष्ट्रिय जन कांग्रेसको स्थायी समितिले यो निर्णयलाई अनुमोदन गरेको थियो।

गत मार्चमा रक्षा मन्त्री नियुक्त भएका ली अगस्टको अन्त्यदेखि सार्वजनिक रूपमा देखा परेका छैनन् । 

सिसिटिभीले प्रसारित गरेको रिपोर्टमा पूर्व विदेश मन्त्री किन ग्याङलाई पनि राज्य काउन्सिलरको रुपमा हटाइएको छ । उनलाई यसअघि गत जुलाईमा नाटकीय रूपमा पदच्युत गरिएकाे थियाे।

दुई वरिष्ठ मन्त्रीहरूको बेपत्ता र बर्खास्तले शक्ति केन्द्रित र कडा पार्टी अनुशासन लागू गर्ने सीको शासनको बारेमा प्रश्नहरू उब्जिएका छन् । 

पश्चिमसँगको बढ्दो तनावको बीचमा सत्तारुढ कम्युनिष्ट पार्टीका लागि कुनै पनि कथित खतरा र कमजोरीहरू हटाउन खोज्दै सीले राष्ट्रिय सुरक्षालाई सुदृढ पार्ने अभियानलाई पनि तीव्रता दिएका छन्।

लीको निष्कासनले रोकिएको चीन र संयुक्त राज्य अमेरिका बीचको उच्च स्तरीय सैन्य वार्ता पुन: सुरु गर्नको लागि बाटो खुलेको छ । 

यसअघि चीनले रुसी हतियार खरिद गरेकोमा सन् २०१८ मा अमेरिकाले लीलाई प्रतिबन्ध लगाएको थियो र बेइजिङले बारम्बार प्रतिबन्धहरू खारेज नगरेसम्म अमेरिकी रक्षा सचिवले लीसँग भेट नगर्ने सुझाव दिएको थियो।