पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

इजरायल–हमासबीचको अस्थायी युद्धविराम केही घण्टामा सकिँदै

२०८० मंसिर १५, शुक्रवार ११:०५ बजे

काठमाण्डौं : इजरायल र हमासबीच सात दिने अस्थायी युद्धविराम केही घण्टामा सकिँदै छ । तीन पटक थप गरेर लम्ब्याइएको युद्धविराम अझै विस्तार हुनेमा भने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।
शुरुमा चार दिनका लागि गरिएको युद्धविराम लम्ब्याएर सात दिन पुर्याइएको हो । यद्यपि युद्धविरामको अवधि थप लम्ब्याउन अन्तर्राष्ट्रिय मध्यस्थता भने जारी छ । विशेषगरी कतार र इजिप्टले युद्धविरामका लागि मध्यस्थता गरिरहेका छन् ।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलको भ्रमणपछि इजरायललाई गाजामा नागरिकको जीवनरक्षा गर्न थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । युद्धविराम थपिएको एक दिन अर्थात् सातौ दिन हमासले थप आठ बन्धक रिहा गरेको छ, जसमा बुधबार छाडिएको दुई जनालाई पनि यसैमा गन्ती गरिएको छ । यता इजरायलले ३० प्यालेष्टिनी बन्दीलाई रिहा गरेको छ ।
युद्धविरामकै बिच इजरायलको पश्चिम जेरुसेलमको एउटा बस स्टेसनमा दुई प्यालेस्टाइनी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको भनिए पनि संख्या यकिन गरिएको छैन । आक्रमणकारी इजरायली सेनाको कारबाहीमा मारिएका छन् ।