पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

चलचित्र समीक्षा - मनीषाको अभिनय र हीरामंडी 

२०८१ जेष्ठ १२, शनिवार २२:०९ बजे

समिक्षा

मनीषाको अभिनय र हीरामंडी 

                               -एल.बि. क्षेत्री 

नेटफिक्समा देखाइने ‘हीरामंडी’ एउटा राम्रो सिरियल बनेको छ | कलाकारहरूबाट निर्देशक संजयलीला भन्सालीले उत्कृष्ट अभिनय लिन सफल छन् | यस सिरियललाई स्क्रिप्टको आधारमा भन्दा कलाको एंगलबाट हेर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ | संजय जहिले पनि आफ्ना सृजनाहरूमा Sublime order अर्थात् भव्यता चाहन्छन् | स्टेजको सजावट, भेषभूषा, गीत, संगीत, नृत्य वा अभिनय सबैमा उनलाई भव्यता चाहिन्छ | यस सिरियलमा पहिलो एपिसड देखि आठौँसम्म सबैमा नवाबहरूको मुगल कालीन शोख र शास्त्रीय प्रस्तुति देखिन्छ | हीरामंडीमा यी सबै भन्साली शैलीमा प्रस्तुत छन् | 

बढी चर्चामा मनिषा कोइरालाको अभिनय छ | तिनले बोलेका निकै प्रभावकारी संवाद छन् | तिनको अभिनय राम्रो छ पनि तर अरूको पनि कम छैन | सोनाक्षीको अभिनयले धेरै पटक मन जित्छ | दुवैको अभिनयमा फरक के त ? मनिषालाई दिइएको मल्लिकाजानको भूमिकामा गम्भीरता छ, वजन छ र तिनले त्यो वजनलाई कत्ति घट्न नदिई निर्देशकको चाहना अनुरूप अव्वल अभिनय गरेकी छिन | सोनाक्षी प्रतिद्वन्द्वीको भूमिकामा छिन | अन्यायमा परेकी, प्रतिशोधको ज्वालामा जल्दै गरेकी एक महत्वाकांक्षी महिलाको भूमिकालाई आफ्नो अभिनयद्वारा न्याय गर्न सफल छिन | तर, दुवै पात्रको अभिनय छमताको कुरा गर्दा गम्भीरताको पक्ष हेर्दा मनिषा बीस छिन | एउटा कारण संजयको विशेष ध्यान पटकथाको गम्भीरतामा भएर पनि हुन् सक्छ | यस अघि मलाई सबैभन्दा बढी मन परेको मनीषाको अभिनय ‘दिल से’ मा थियो | 

हीरामंडी पाकिस्तानको लाहोरमा रहेको एक ठाउँको नाउँ हो | साथै भन्न सकिन्छ हीरामंडी तवायफहरूले आफ्नो पेशाका लागि सुनिश्चित गरेको विशाल भवनहरूको नाम हो | कुनै ताका तवायफ शब्द निकै सम्मानित नाम थियो र उनीहरू सम्मानको जिन्दगी बाँच्दथे | तिनीहरू शरीर व्यापार गर्ने वेश्या नभएर कलाकार भनेर चिनिन्थे | नवाब र राजघरानाका बच्चाहरूलाई हीरामंडीका कोठामा गीत, संगीत, नृत्य र भाषाको सभ्यता सिक्न पठाइन्थ्यो | 

त्यस ठाउँको नाउँ किन र कसरी ‘हीरामंडी’ पर्न गयो यसको आफ्नै कथा छ | त्यता तिर नलागौ | चित्रपटको कुरा गरौँ | 

‘हीरामंडी’ चलचित्र ठाउँको नाममात्र नभएर प्रतिशोध, प्रेम र आन्दोनलको कथा पनि हो | त्यो ताका भारतमा अंग्रेजी हुकुमत थियो | अंग्रेजहरू विरुद्ध भारत छोडो आन्दोलनको जोर थियो | संजयलिला भन्सालीले त्यसलाई नै चलचित्रमा व्याकग्राउँन्डको रूपमा प्रयोग गरेकाछन् | पटकथामा भने मनीषा र सोनाक्षीबीच प्रतिशोध र प्रतिद्वन्द्विताको कथा बुनेकाछन् | आलमजेव र ताजदारबीचको प्रेम प्रसङ्ग पनि पटकथाको अङ्गबन्नमा सफल छ | पछि गएर धेरै प्रसङ्ग जोडिन्छन् र प्रमुख हुन्छ भारतीय स्वतन्त्रताका लागि अंग्रेज विरुद्धको आदोलनमा तवायफहरूको योगदान | मनिषा र सोनाक्षीको एकतामा नै तवायफहरूले आन्दोलन चर्काउँछन्।

यसरी हेर्दा, हीरामंडी तवायफहरूको नृत्य कला प्रदर्शन, आपसी प्रतिशोध र प्रतिद्वन्दिताको कथा त हो नै साथै, भारतीय स्वतन्त्रता आन्दोलन र राष्ट्र प्रेमको गाथा पनि हो | आजादी र गुलामीको कथामा इन्कलाबको नारा निकै कर्णप्रिय लाग्छ | 

वास्तवमा हीरामंडी कथामात्र होइन उपन्यास नै हो | यसमा एउटामात्र मुद्दा छैन धेरै मुद्दामा बहस गरिएको छ | एउटा पुरै जीवन वृतान्त छ यस चलचित्रमा | संजयलीला भन्सालीले यी विभिन्न मुद्दाका थीममा काम गरेर आख्यानलाई जीवन्त बनाएका छन् | यस सिरियलमा नारी विद्रोहको स्वर सुरूदेखि नै छ – ‘क्या कोई नुमाइस की चीज हैं हम ?’ मल्लिकाजानकी छोरी आलमजेवले सोधेकी हुन्छे तर पुरुष प्रधान समाजमा नारी अबला नै हुन्छे भन्ने प्रमाणित गरिएको छ जब मल्लिकाजानले फरदीन(सोनाक्षी)लाई ९ वर्ष कै उमेरमा बेचेकी हुन्छे अनि आफ्नै छोरी आलमजेवलाई बेच्ने जमर्को गर्छे | 

यस चलचित्रमा षडयन्त्र छ, शरीरको बेच-बिखन छ, सम्पत्ति दस्तावेजको लुछाचुँडी छ |  

‘हीरामंडी’ सिरियल भव्य छ तर ‘हीरामंडी’मा बस्नेहरूको हृदयमा अत्याधिक पीडा छ | यी पीडालाई भन्सालीले आफ्नो फिल्ममा आफ्नै शैलीमा प्रस्तुत गर्छन् र उनको स्टाईल बन्न पुग्छ - भव्यता | उनलाई भव्य सेट चाहिन्छ,शास्त्रीय गीत चाहिन्छ गरुंगा पहिरन चाहिन्छ | अनि कलाकारबाट उसलाई चाहेजस्तो एक्टिंग चाहिन्छ | भन्सालीका कलाकार जीवित पात्र हुन्छन् तर पूर्णतया निर्देशित | मलाई अझै सम्झना छ ‘देवदास’ फिल्ममा शाहरूख खान बेलायतबाट घर फर्कंदाको त्यो स्वागत दृश्यको भव्यता | 

वास्तवमा भन्सालीका सबै फिल्ममा उस्तै-उस्तै सेट, पहिरन, नृत्य भेटिन्छन् | नयाँ खोज्नेहरू निराश पनि हुन सक्छन | म निराश भइन | मलाई ancient र antique पनि मनपर्छ |

(लेखक एल.बि. क्षेत्री एक चर्चित कवि हुनुहुन्छ।)