पाठशाला न्यूज
 २०८१ कार्तिक २२, बिहीवार    

नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौं : प्रधानमन्त्री प्रचण्ड

२०८० आश्विन ८, सोमवार १८:३२ बजे

बेइजिङ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् ।
सोमबार चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिएको प्रतिक्रियामा उनले सो धारणा राखेका हुन् । उनले भने, ‘विश्वमा बढ्दो विज्ञान एवं सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौं । ’
उनले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरे ।
नेपालमा चीनका उद्योगी व्यवसायीहरुले गर्ने लगानीका क्षेत्रहरु धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र भनेको सूचना प्रविधि रहेकाले यस क्षेत्रमा लगानीका लागि उनले चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरे ।

नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताहरुको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता पनि उनले सो अवसरमा व्यक्त गरेका थिए ।
हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसहित उनको प्रतिनिधिमण्डल सोमबार सो कम्पनीको मुख्यालयमा पुगेको थियो। कम्पनीका उच्च अधिकारीहरुले प्रधानमन्त्रीलाई विशेष स्वागत गरेका थिए ।
उक्त बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटपलगायतका इलेक्ट्रोनिक वस्तुहरु उत्पादन गर्ने गर्दछ ।