पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

चन्द्रनिगाहपुरमा मार्ट खोल्ने प्रतिष्पर्धा

२०८० भाद्र ११, सोमवार १५:४९ बजे

दिपु मिश्र
रौतहट–बढ्दो सहरीकरणसंगै रौतहटको चन्द्रनिगाहपुर क्षेत्रमा पछिल्लो समयमा बजारीकरण बढेको छ । यहाँ दिनप्रतिदिन प्रतिष्पर्धा गर्दै डिपार्टमेन्ट स्टोर तथा ,मार्टहरु खुल्ने क्रमसमेत बढ्न थालेको छ ।
सोमबार चन्द्रपुर नगरपालिका वडा नम्बर चार चन्द्रनिगाहपुर चोकमा खुसी मार्टको उद्घाटन गरिएको छ । नेपाल पत्रकार महाँसघका केन्द्रीय सदस्य शिव पुरीले एक समारोका बीच रिवन काटेर खुसी मार्टको उद्घाटन गर्नुभएको छ । डेढ करोडको अनुमानी लागतमा चन्द्रपुरका वासिन्दाहरुको मागलाई पुर्ति गर्ने उदेश्यले सो मार्ट खोलिएको मार्टका संचालक राकेश गिरीले जानकारी दिनुभयो ।
खुसी मार्टसंगै चन्द्रनिगाहपुर क्षेत्रमा दर्जनौं डिपार्टमेन्ट स्टोर, मार्टहरु तथा मिनि मार्टहरु संचालनमा रहेका छन् । बढ्दो जनसंख्या र आधुनिकीकरणसंगै यहाँका जनजीवनमा सुविधाजनक ब्यापार ब्यवसाय खोल्नेहरुको संख्या बढ्दै जान थालेको छ । समाजमा यस्ता सुविधानजनक मार्टहरु खोलिँदा सर्वसाधारणले बाहिर जानुपर्ने र अन्यत्रबाट सामान मगाउनु पर्नै समस्या हटेर जाने स्थानीय ईन्जिनियर धिरेन्द्र झाले बताउनुभयो ।
एक दशकयता चन्द्रनिगाहपुर क्षेत्रमा जिल्लाभित्र र बाहिरबाट बसाई सराई गरेर आउनेहरुको संख्या बढेको छ । चन्द्रनिगाहपुर जिल्लामै सर्वाधिक बाक्लो र घना आवादी भएको क्षेत्र हो । आसपासका क्षेत्रका बासिन्दाको प्रमुख बजारका रुपमा रहेको चन्द्रनिगाहपुरमा पछिल्ला समयमा ब्यापार ब्यवसाय गर्ने होड नै चलेको उद्योग बाणिज्य संघ,चन्द्रनिगाहपुरका महासचिव जनक भारतीले बताउनुभयो । उद्योग बाणिज्य संघ,चन्द्रनिगाहपुरका अनुसार, चन्द्रनिगाहपुर क्षेत्रमा दुई हजार पाँच सयको संख्यामा ब्यापार ब्यवसाय गर्ने ब्यापारीहरु रहेका छन् ।