पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

वीरगंजका मेयर राजेशमान सिंह बिरुद्ध अंश र सम्बन्धविच्छेदको मुद्दा दर्ता

२०८० माघ २८, आईतबार १७:२१ बजे

जलेश्वर सर्राफ 

वीरगंज- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईले आइतबार जिल्ला अदालत पर्सामा वीरगंजका मेयर राजेशमान सिंह बिरुद्ध अंश र सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको जिल्ला अदालतले जनाएको छ ।

जिल्ला अदालत पर्साका अनुसार श्रीमती नाता कायमै नभएकी भट्टराईले आइतबार सम्बन्धविच्छेद र अंश दाबी गर्दै मुद्दा दायर गरेकी हुन् । जिल्ला अदालतमा उनले पेश गरेको फिरादपत्रमा मेयर सिंहसँग आफूले प्रेम विवाह गरेको तर सो कुरा सार्वजनिक रुपमा बाहिर नदेखाएको दाबी गरिएको छ । आफ्नो शरीरबाट जन्मेकी छोरी रुबिनाको सम्पूर्ण भरण पोषण तथा सरकारी कागजात सिंहले नै बनाइदिएको र सोकै आधारमा आफू उनको पत्नी भएको तथ्य स्थापित हुने भट्टराईको फिराद पत्रमा भनिएको छ । 

‘प्रतिवादी राजेशमान सिंह प्रकाशमा रहेकी पत्नी अन्नपूर्ण हुनु भएकोमा म फिरादीले प्रेम विवाह गरेका कारण प्रकाशमा नल्याए पनि मेरो उदार (शरीर) बाट जन्मेकी छोरी रुबिना श्रेष्ठको जन्मदर्ता, शैक्षिक प्रमाण पत्र एवम् नागरिकता निवेदनबाट म निजकै पत्नी भएको तथ्य स्थापित हुन्छ । मुलुकी देवानी संहित २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वत विवाह भएको मानिने उल्लेख छ । अतः स्थापित कानुनअनुसार प्रतिवादी राजेशमान सिंह मेरो पति भएको पुष्टि हुन्छ,’ भट्टराईको फिराद पत्रमा दावी गरिएको छ ।

आफूसँग नाता कायम नै नभएकी युवतीलाई बुबा बनेर नागरिकता दिलाएका सिंहले गृह मन्त्रालयको छानबिन समितिसँग शनिबार आफूले बहुविवाह गरेको बयान दिएका थिए ।

रुबिना श्रेष्ठको नागरिकता किर्तेमा फस्ने डरले गलत बयान दिएको भोलिपल्टै जिल्ला अदालत पर्सामा रुबिना भट्टराईले स्वतः पति नाता कायम रहेको दाबी गर्दै अंश र सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । मेयर सिंहले बहुविवाह स्वीकार गर्नु, त्यसको भोलिपल्टै पति दाबी गर्दै भट्टराईले अंश र डिभोर्स मुद्दा दायर गर्नुले मेयरको किर्ते धन्दा थप छताछुल्ल भएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

अदालतमा दर्ता भएको फिरादपत्रमा भट्टराईले राजेशमान सिंह आफ्नो श्रीमान भएको दाबी गरेतापनि ‘सिंहले एक गल्ती छोप्न अर्को गल्ति गरिरहेका छन्,’ गृहको छानबिन समितिका एक सदस्यले भने, ‘तर, यसले उनी थप उदाङ्गो हुँदै गएका छन् । नैतिक धरातल गुमाइरहेका छन् ।’

वीरगंजका सर्वदलिय नेता तथा नागरिक अगुवाहरूले भने नागरिकता किर्ते प्रकरणमा विवादमा आएका वीरगंजका मेयर राजेशमान सिंहले कारबाहीबाट जोगिन नयाँ नयाँ उपाय अवलम्बन गरिरहेको बताउँछन् । मेयर सिंहले एकपछि अर्को किर्ते गरिरहँदा सरकारी अनुसन्धान भने कमजोर भएको भन्दै उनीहरूले कानुनी छिद्रमा टेकेर भइरहेको गैरकानुनी कार्य रोक्न माग गर्दै बिरोध तथा धर्नाका कार्यक्रमहरु गर्दै आइरहेकाछन्।