पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

प्रहरी समायोजनलाई पूर्णता दिन गम्भीर भएर छलफल तीव्र बनाएका छौं : गृहमन्त्री लामिछाने

२०८० चैत्र २८, बुधबार २१:१६ बजे

जनकपुरधाम : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजनलाई मूर्त रूप दिन छलफल तीव्र पारिएको बताएका छन् ।
जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले प्रहरी समायोजनलाई पूर्णता दिन गम्भीर भएर छलफल तीव्र बनाइएको बताए । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन छिटै गर्ने अभिव्यक्ति दिइरहेका वेला गृहमन्त्री लामिछानेले पनि प्रहरी समायोजनले पूर्णता पाउन केही समय लागे पनि त्रुटिबिना समायोजन गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी समायोजनकै विषयलाई लिएर प्रदेशका गृहमन्त्रीहरूसँग दुई चरणको छलफल समेत भइसकेको बताए । यद्यपि प्रहरी समायोजनको मिति ठ्याक्कै यही दिन भन्न नसकिने उनको भनाइ थियो ।
लामिछानेले भने, ‘प्रहरी समायोजनको ड्राफ्ट भएको छ । मैले पदभार सम्हालेपछि त्यसलाई छलफलको विषय पनि बनाएका थियौँ । त्यसमा काम गर्ने ठाउँ थुप्रै छन् । निरन्तर रूपमा अघि बढाउने कुरामा हामी छलफल गरिरहेका छौँ ।’

गृहमन्त्री लामिछानेले आरोप लाग्ने र उजुरी पर्नेबित्तिकै सांसद एवं मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्नुपर्ने बताए । उनले नेपाली काँग्रेसले राजीनामा माग गरेको र संसद् अवरोध गरिरहेकोबारे सञ्चारकर्मीको प्रश्नमा काँग्रेसको मागभन्दा रास्वपाले एक कदम अघि बढेर उजुरी पर्नेबित्तिकै सांसद, मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्न प्रस्ताव गरिसकेको बताए ।
कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न स्वतन्त्र, उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने आफूहरूको माग रहेको स्पष्ट पारे ।