पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

कृष्ण बहादुर महरामाथि सीआईबीको अनुसन्धान

२०८० चैत्र ७, बुधवार १३:३१ बजे

काठमाडौं : प्रहरीले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीको मतियारको भूमिका खेलेको भन्दै सोहीअनुसार अनुसन्धान गर्ने भएको छ ।
सोमबार कपिलबस्तुबाट पक्राउ परेका महरामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेको छ । स्वास्थ्य अवस्था कमजोर रहेका कारण महरालाई हाल नर्भिक अस्पताल भर्ना गरिएको छ ।
विद्युतीय सिगरेट (भेप)मार्फत भएको नौ किलो सुन तस्करी प्रकरणमा जोडिएका महरालाई सोही सुन तस्करीको सहयोगी भूमिका खेलेको आरोपमा अनुसन्धान हुने सीआईबीका प्रमुख एआईजी श्याम ज्ञवालीले जानकारी दिए ।
भेपमार्फत भएको सुन तस्करीका आरोपी दाओजिन वाङसँग महराकोे लामो कनेक्सन देखिएको थियो । १० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा नौ किलो सुन भेटिएको थियो ।
सो सुन भन्सारकै कर्मचारीको मिलेमतोमा चोरी गरेर बिक्री गरिएको थियो । सोही सुन तस्करीमा जोडिएका महराका छोरा राहुल भने हाल जेलमा छन् । उक्त सुन तस्करी प्रकरणका चिनियाँ नागरिक भने हाल फरार छन् ।