पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

झरना साहित्यिक परिवारद्वारा तीज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न

२०८० भाद्र ३०, शनिवार १७:१० बजे

मकवानपुर– मकवानपुरको बकैया गाँउपालिकामा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिवार झरना साहित्यिक परिवार मकवानपुर तथा महेन्द्र माध्यामिक विद्यालय छतिवनको संयुक्त आयोजनामा बकैया गाँउपालिकामा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको सुरुमा लोकगायिका मञ्जु दाहाल तथा लोकगायक रामप्रसाद सापकोटाले आआफ्ना एकल प्रस्तुति गर्नुभएको थियो भने पछि ती दुई जना बिच सुमधुर र शिष्ट दोहोरी भएको थियो । दोहोरीका साथसाथै चलेको सामूहिक नृत्यले सिङ्गो वातावरण नै लोकदोहोरीमय तथा तीजमय बनेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बकैया वडा नम्बर ५ की वडाध्यक्ष लक्ष्मी जिम्बा तथा विशिष्ट अतिथिका रूपमा बकैया वडा नम्बर ४ का वडाध्यक्ष राजन दङ्गाल हुनुहुन्थ्यो । प्रमुख अतिथि जिम्बाले आफूहरूले यही कार्यकालमा झरना साहित्यिक परिवारको भवन बनेको हेर्न चाहेको र आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी तथा वर्तमान अध्यक्ष विश्वनाथ सन्जेलले मन्तव्य राख्नुभएको थियो ।
सो तीज विशेष कार्यक्रममा ३५० जनाको सहभागिता रहेको जानकारी प्राप्त भएको छ ।