पाठशाला न्यूज
 २०८१ माघ २६, शनिवार    

पक्राउ परेका पूर्व मन्त्री अधिकारी माथि अनुसन्धान सुरु

२०८१ कार्तिक २५, आइतवार २२:२१ बजे

काठमाडौं- युवाहरूलाई फर्जी कागजात बनाएर बेचबिखन गर्ने नियतले जापान लगेको आरोपमा काठमाडौं कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान थालेको छ ।

उनलाई अनुसन्धान गर्न अदालतबाट २ दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ। उनलाई यसअघि पक्राउ परेका ६ जनासँगै म्याद मिलान हुनेगरी २ दिनको म्याद लिएको पनि प्रहरीले जनाएको छ।

प्रहरीले यसअघि ६ जनालाई पक्राउ गरेर लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धान थालेको थियो । पूर्वमन्त्री पक्राउ परेसँगै सो मुद्दा प्रहरीले मानव बेचबिखनमा पनि रुपान्तरण गरेको छ । पूर्वमन्त्री अधिकारी अर्काको खर्चमा जापान गएको देखिएको र ३ जनासँग बिचौलियाले रकम पनि लिएको पुष्टि भएपछि प्रहरीले आफ्नै प्रतिवेदनको आधारमा मुद्दा रुपान्तरण गरेको हो । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘प्रहरी प्रतिवेदनको आधारमा लिखत किर्तेसँगै मानव बेचबिखन मुद्दा पनि यसमा जोडेर अनुसन्धान थालेका छौँ ।’

कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका हुन् ।

टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौं फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने बिचौलियाहरूमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल छन् ।