पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

रुसको आप्रवासी छात्रावासमा आगलागी, आठजनाको मृत्यु

२०८१ जेष्ठ ११, शुक्रवार ०७:१३ बजे

एजेन्सी : रुसको राजधानी मस्को नजिकैको एक गाउँमा आप्रवासी बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
रुसी राजधानीको उत्तरपश्चिममा रहेको इस्ट्रिन्स्की जिल्लामा बिहीबार दुईतले आवासीय भवनमा बिहान करिब चार बजे आगो लागेको हो । गाउँको छेउमा रहेको उक्त भवनबाट दुई जनाको उद्धार गरिएको तर आठ जनाको शव फेला परेको उद्धारकर्मीले बताए ।
‘अनुसन्धानकर्मीका अनुसार एक २३ वर्षीय व्यक्तिले उक्त घर भाडामा लिएका थिए, घरलाई पछि रुसमा दर्ता नगरिएका विदेशी नागरिकलाई भाडामा दिइएको थियो’, अभियोजकहरूले भनेका छन् ।
अग्निनियन्त्रकहरूले भित्ताका केही भाग भत्किएको भवनमा धुवाँ उडिरहेको भग्नावशेषलाई अवलोकन गरिरहेको भिडियोमा देखाइएको छ ।
अवैध आप्रवासनलाई रोक्ने आधिकारिक प्रयासका बाबजुद कानूनी हैसियतबिना हजारौँ विदेशी रुसमा बस्ने गरेको बताइन्छ ।