पाठशाला न्यूज
 २०८१ मंसिर २३, आइतवार    

सर्लाहीका उखु खेतीका किसानले पाए अनुदान रकम

२०८१ आश्विन १९, शनिवार ०७:२६ बजे

सर्लाही- सर्लाहीका उखु किसानले शुक्रवार अनुदानको रकम प्राप्त गरेका छन् ।

सर्लाहीका उखु किसानलाई वितरण गर्न २९ करोड ७१ लाख सात हजार ८०३ रुपियाँ अनुदान रकम निकासा भएर आएको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले किसानको खातामा जम्मा गरिदिएको हो । 

विभिन्न बैङ्कले घटस्थापनाअघि नै कोलेनिकाबाट चेक बुझेर लगेका थिए । बैङ्कले शुक्रवार किसानको खातामा रकम जम्मा गरिदिएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिनुभयो । चाडपर्वको मुखमा उखुको अनुदान रकम पाउँदा किसान दङ्ग परेका छन् ।

यो वर्ष एकै पटकमा किसानलाई वितरण गर्न पुग्ने रकम निकासा भएर आएको र प्राप्त रकम तत्कालै वितरण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका लेखापाल रामप्रकाश साहले जानकारी दिनुभयो । लेखापाल साहका अनुसार महालक्ष्मी चिनी उद्योग बगदहमा उखु बिक्री गरेका २४ जना उखु किसानको भने बैङ्क खाता प्राप्त हुन नसकेको र बैङ्क खाता आएपछि ती किसानको अनुदान रकम पठाइने छ । 

गत वर्ष सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।  

गत वर्ष अपूरो रकम निकासा भएर आउँदा किसानले दुई पटकमा गरेर बल्लतल्ल अनुदान रकम प्राप्त गरेका थिए । यस बर्ष समयमै उखु किसानको खातामा रकम जाँदा सर्लाहीका उखु किसान हर्षित छन्।