पाठशाला न्यूज
 २०८२ आषाढ ३, मङ्गलवार    

रौतहटमा छुरा प्रहार गरी युवकको हत्या, चार जना पक्राउ

२०८१ आषाढ २६, बुधवार १०:०५ बजे

रौतहट : रौतहटको दक्षिणीभेग भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ ।
इशनाथ–९ लवातना गाउँका करिब १८ वर्षीय सहबाज मियाँ आलमको पेटमा धारीलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
इशनाथ २ औरेयास्थित गेटअगाडि आँपको बगैंचामा युवक घाइते अवस्थामा देखेर गए राति साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर गुप्ताको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरेयाबाट इन्स्पेक्टर दिलबहादुर महराको कमाण्डमा सात जनाको संयुक्त घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोली घटनास्थल पुग्दा युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन् ।
जघन्य किसिमले युवकको हत्या गरिएको उनले बताए । राति नै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको थियो ।

प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मंगलबार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए । त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो ।
हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन् ।