पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

मदन पुरस्कार-२०७९ बिबेक ओझाको उपन्यास ऐँठनलाई प्रदान

२०८० आश्विन १४, आइतवार १२:३३ बजे

काठमाडौँ –मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले यो बर्षको मदन पुरस्कार–२०७९ आख्यानकार विवेक ओझाको उपन्यास ’ऐँठन’लाई प्रदान गरिने भएको छ ।
यस अघि मदन पुरस्कार– २०७९ को श्रेष्ठ सूची सार्वजनिक भएको थियो । मदन पुरस्कार गुठीले ३१३ कृतिमध्ये पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर छनौट भएका थिए । मदन पुरस्कार पुरस्कृत हुने ऐंठन उपन्यास दुई दशकअघि माओवादी विद्रोहको वेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित छ । साङ्ग्रिला बूक्सद्वारा प्रकाशन गरिएको यस उपन्यासमा द्वन्द्वकालका भयावह र बर्बर घटना समेटिएका छन् ।
यस्तै, मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बाश्री वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको जनाएको छ ।

विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ’हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार प्रदान गरेको थियो ।
विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो । पहिलोपटक यो पुरस्कारको सम्मान नारायण गोपाललाई दिइएको थियो नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति\संस्थालाई जगदम्बा–श्री दिइँदै आइएको छ । दुवै पुरस्कारको राशि ४÷४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।