ताप्लेजुङ- शनिवार पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीहरु र सुरक्षाकर्मीबीच भएको झडपमा दुवै तर्फका गरी कम्तिमा १८ जना घाइते भएका छन्।
झडपमा सुरक्षाकर्मीतर्फ १३ र केबलकार निर्माणको विरोध गरिरहेको समूहका ५ जना घाइते भएको जिल्लास्थित सुरक्षा निकायले जनाएको छ।
‘नो केबलकार’ पक्षधरका ३ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालबाट बाहिर रेफर गरिएको छ। बाँकी सबैको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ।
पाथीभरा क्षेत्रको बलुडाँडामा शनिवार दुई पटक झडप भएको थियो। पहिलोपटक अपराह्न ४ बजेतिर भएको झडपका क्रममा प्रहरीले १२ राउण्ड अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो। सो क्रममा ४ जना सुरक्षाकर्मी र नो केबलकार पक्षधर १ जना घाइते भएका थिए। पछि साँझ ६ बजेतिर फेरि भएको झडपका क्रममा स्थिति तनावग्रस्त बनेको थियो।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थिति नियन्त्रणमा लिन पटक–पटक गरेको प्रयास असफल भएपछि फायर खोल्नु परेको जानकारी दिए। मुक्कुमलुङ खारेजी संघर्ष समितिका संयोजक श्री लिङखिमले सुरक्षाकर्मीले घर–घरमा खाना खाइरहेका मुक्कुमलुङ खारेजी संघर्ष समितिका कार्यकर्तालाईलाई कुटपिटका साथै अन्धाधुन्ध गोली प्रहार गरेको दाबी गरेका छन्।
उनले सुरक्षाकर्मीले पहिलो पटक पनि अश्रुग्यास नभइ गोली नै चलाएको र दोस्रो पटक त धेरै राउण्ड फायर गरेको दाबी गरे। उनले शान्तिपूर्ण आन्दोलनमा राज्यले गोली चलाएर आफ्नो निरीहता प्रकट गरेको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार पाथीभरा क्षेत्रको ब्लुडाँडा आसपासमा घरेलु हतियार सहितको समूह बसेको थाहा पाएपछि सुरक्षाकर्मीको टोलीले घरेलु हतियार नियन्त्रणमा लिने प्रयास गर्दा सुरक्षाकर्मी र केबलकार निर्माणको विरोध गरिरहेको समूहबीच घम्साघम्सी भएको थियो।
सुरक्षाकर्मीले आन्दोलनरत पक्षबाट तीन थान खुकुरी र ग्याटिस सहितका सामग्री नियन्त्रण लिएको जनाइएको छ। ‘युद्धको मानसिकतासहित घरेलु हतियार र लाठीमुङ्गीसहित भेला भएका समूहबाट घरेलु हतियार नियन्त्रण गर्ने क्रममा उक्त अवस्था आएको हो,’ प्रजिअ शर्माले भने। उनका अनुसार अहिले त्यहाँको अवस्था सामान्य रहेको छ।
यसैबीच प्रमुख जिल्ला अधिकारी शर्माले केबलकार निर्माणको विरोध गरिरहेका समूहका एक जना नेताले ‘सिडिओविरुद्ध युद्धको घोषणा भयो’ भनेर अस्लील र अपमानजनक ढंगले गालीगलौज गरेको बताउँदै आफू यस्ता विषयबाट कुनै बिचलनमा नपरेको जिकिर गरे। उनले आफू सुरक्षा चुनौतीको मुकाबिला तथा सहजीकरणका लागि सरकारले खटाएको प्रतिनिधि भएकाले कुनै संकोच नमानी जिल्लामा शान्तिसुरक्षा र अमनचयन कायम गर्न प्रतिबद्ध रहेको उनले बताए।