पाठशाला न्यूज
 २०८२ पौष ४, शुक्रवार    

एमालेले काठमाडौंमा उपचुनाव हुन लागेका चार वटै सीटमा उम्मेदवारको टुङ्गो लगायो

२०८१ कार्तिक २१, बुधवार १६:२७ बजे

काठमाडौं- नेकपा एमालेले काठमाडौंमा उपचुनाव हुन लागेका चार वटै सीटमा उम्मेदवार टुङ्गो लगाएको छ ।

जिल्ला कमिटीको आज बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको हो । साथै सबै उम्मेदवार सम्बन्धित वडा र नगर कमिटीबाट सर्वसम्मत सिफारिस भएकोले कुनै पनि उम्मेदवारका नाममा विवाद नभएकाले उपचुनाव परिचालन थप सहज भएको जिल्ला अध्यक्ष दीपक निरौलाले बताए । 

महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन समेत सर्वसम्मत सिफारिस गरेको निरौलाले बताए ।

संवैधानिक कानून विषयमा विद्यावारिधि गरेका कीर्तिपुरका लोकप्रिय नेता मानन्धरलाई सर्वसम्मत रूपमा अघि सारेर नगर कमिटीले विजयी पहल थालेको निरौलाले दाबी गरे ।

त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको छ ।