पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

२०८१ वैशाख ५, बुधवार ०६:०४ बजे

एजेन्सी – स्पेनिश क्लब बार्सिलोना माथि जित हात पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मान (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको १२औं मिनेटमा बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । लामिन यमालले राइट विङबाट बल लिएर बक्स भित्रबाट गरेको क्रसमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनाले अग्रता लिएको थियो ।

तर २९औं मिनेटमा खेलमा बार्सिलोनालाई ठूलो झट्का लागेको थियो । डिफेन्डर रोनाल्ड आराउहो सोझो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोनाले खेलको दुई तिहाई समय १० जनाले खेल्नु परेको थियो ।

४०औं मिनेटमा बार्सिलोनाले गोल खान पुग्यो । ब्राड्ली बार्कोलाको क्रसमा पूर्व बार्सिलोना खेलाडी उसमान डेम्बेलेले गोल गर्दै समग्रमा बार्सिलोनाको अग्रता दुई गोलबाट एक गोलमा घटाए ।

५४औं मिनेटमा पिइसजीले खेलमा अग्रता लिँदै समग्रमा बराबरी गर्यो । भिटिन्हाले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेलमा पाहुना टोलीलाई अग्रता दिलाए ।

६०औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । जोआओ क्यान्सेलोले उसमान डेम्बेलेमाथि फाउल गरेपछि पाएको पेनाल्टीमा किलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई समग्रमा अग्रता दिलाए ।

८९औं मिनेटमा एम्बाप्पेले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे ।

डर्टमुण्डले एट्लेटिको म्याड्रिड विरुद्ध समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

पिएसजीले अब फाइनल प्रवेशका लागि बोरुसिया डर्टमुण्ड विरुद्ध खेल्नेछ ।