पाठशाला न्यूज
 २०८१ आश्विन ३, बिहीवार    

बालसुधार गृहमा झडप :इन्स्पेक्टरसहित १८ सुरक्षाकर्मी र १२ जना ‘नाबालक बन्दी’ घाइते

२०८० भाद्र ५, मङ्गलवार ००:५८ बजे

काठमाडौँ–भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा नाबालक बन्दीको मृत्युको विषयमा झडप हुँदा प्रहरीका इन्स्पेक्टरसहित १८ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
प्रहरी वृत्त ठिमीमा कार्यरत इन्स्पेक्टर सञ्जिव ओलीसहित १० प्रहरी घाइते भएका हुन् । यस्तै सशस्त्र प्रहरीका ८ जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
झडपमा १२ जना नाबालक बन्दी घाइते भएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यले बताए । उनले भने–‘११ जना नाबालक कैदीबन्दीको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा र एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’
ट्रमा सेन्टरमा उपचार गराइरहेका शंकर घर्तीको अवस्था गम्भीर छ । झडपको क्रममा २२१ जना नाबालकहरु सुरक्षा घेरा तोडेर भागेका थिए । तीमध्ये ८६ जनालाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ ।
बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको हो ।
अदालतको आदेशले बस्नेत २०७७ सालदेखी बालसुधार गृहमा थिए । मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताएका छन् ।