सुनसरी- भ्रष्टाचार र कुशासनको विरोधमा भण्डाफोर कार्यक्रम भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज इटहरीमा विरोधसभा गर्ने भएको छ । हिन्दु राज्य र संघीयताको विरोधमा सडक र सदनमा विरोध गर्दै आएको राप्रपाले भ्रष्टाचार बढेको भन्दै विरोध सभाको आयोजना गर्न लागेको हो ।
सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपाको शक्ति प्रदर्शनको रूपमा लिएको यो विरोधसभाअघि तीन स्थानबाट र्याली निकाल्ने तयारी भएको छ ।
र्यालीको अगुवाइ राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही लगायतका नेताहरूले गर्ने राप्रपा कोशी प्रदेशका प्रवक्ता विजय राउतले बताए । राप्रपाले इटहरीसँगै देशै भरी विरोध सभा गर्ने कार्यक्रम तय गरेको छ ।
राप्रपाको कार्यसम्पादन समितिको बैठकले एमाले कांग्रेस नेतृत्वको सरकारका कारण मुलुक अस्तव्यस्त हुँदै गएको समेत निष्कर्ष निकालेको थियो । राप्रपाले सरकारविरुद्ध देशैभर भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।