पाठशाला न्यूज
 २०८२ वैशाख १२, शुक्रवार    

२०८० सालको पद्मश्री पुरस्कार तीन श्रष्टा र साधकलाई प्रदान

२०८१ कार्तिक ७, बुधवार १५:५९ बजे

काठमाडौं- खेमलाल-हरिकला लामिछाने मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा २०८० सालको पद्मश्री पुरस्कार तीन श्रष्टा र साधकलाई प्रदान गरेके छ।

पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई प्रदान गरिएको छ । समालोचक गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता हुन् । उनका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

त्यस्तै पद्मश्री साधना सम्मान भारतको सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यिक तथा चिन्तक पवनकुमार चामलिङलाई प्रदान गरिएको छ। 

चाम्लिङ भारतको सिक्कीम राज्यमा लगातार २४ वर्ष मुख्यमन्त्री रहेका राजनीतिज्ञ मात्रै होइनन्, लेखक, कवि एवं चिन्तक पनि हुन्।

चामलिङको पहलमा स्थापना भएको ‘निर्माण प्रकाशन’ले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा पूर्वमुख्यमन्त्री चाम्लिङले नेपाली भाषा तथा संस्कृतिको अभिभावकत्व नेपालले लिनुपर्ने बताए।

पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई प्रदान गरियो ।

पद्मश्री गौरब पुरस्कार पाउने माथेमा समतामूलक समाज निर्माणका लागि समर्पित शिक्षासेवी हुन् । उनी २०४७ सालको परिवर्तनपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति रहँदा गुणस्तरीय शैक्षिक विकास र प्राज्ञिक स्वतन्त्रताको पक्षमा योगदान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले तीनै जना श्रष्टा तथा साधकला तीन-तीन लाख नगदसहित सम्मान गरे ।