पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

कटहरियामा युवक हत्या आरोपमा ५ जना पक्राउ

२०८० भाद्र ३०, शनिवार १७:४१ बजे

रौतहट–रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ५ मा गए राति युवकलाई छुरा हानेर हत्या गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार बेलुका साढे सात बजे दुई पक्षीय झडपमा एक समूहले कटहरिया वडा नम्बर ५ का मदन यादवको २५ वर्षीय छोरा सुनिल राय यादवलाई छुरा हानेर हत्या गरेका थिए ।
खानेपानी कार्यालय छेउमै सुनिल यादव दाजुभाइ र अर्को पक्षबीच भनाभन हुँदै झडप सुरु भएको थियो । झडपको क्रममा उक्त समूहले सुनिल यादवको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गरेका थिए । लगत्तै उनको मृत्यु भएको थियो ।
प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा कटहरिया ५ का रामबाबु साह सोनारका २५ वर्षीय छोरा बद्री साह सोनार र उनको काका लक्ष्मी साहको छोरा वर्ष २३ का किसन साहलाई नियन्त्रणमा लिएको थियो । खोजतलासको क्रममा कटहरिया गाउँमा लुकेर बसेका रामबाबु साह सोनार र दुई जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
सबै आरोपी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।
शुक्रवार साँझ दुवै परिवारका नाबालक केटाहरू बिच खेल्ने क्रममा भएको सामान्य गालीगलौजको विषयलाई लिएर भनाभन हुँदै झडप हुँदा हत्याको घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।