पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

वीरगंजका मेयर सिंहलाई कारवाहि गर्ने गृहमन्त्रीको प्रतिवद्धता

२०८० माघ ३, बुधबार १८:०९ बजे

जलेश्वर सर्राफ
वीरगंज- नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह बिरुद्ध आज गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ ।
नक्कली बाबु बनेर अर्कैको छोरी रुबिना श्रेष्ठ नामक युवतीलाई नागरिकता दिलाएको आरोपमा पर्सा जिल्लाबाट गएको एक सर्वदलीय टोलीले उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ समक्ष वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह बिरुद्द उक्त उजुरी दिएका हुन् ।
गृहमन्त्री श्रेष्ठले मेयर सिंहमाथि कारवाही प्रक्रिया अघि बढसकेको र दोषी ठहरे कानुनको कठघरामा उभ्याउने प्रतिबद्धता जाहेर गर्दै पर्सा जिल्लाबाट गएको सर्वदलीय टोलीसँग सिंहदरवार स्थित आफ्नो कार्यकक्षमा उजुरी पत्र बुझेका हुन् ।
उजुरी बुझाउने सर्वदलीय टोलीमा रा.स्व.पा पर्साका जिल्ला संयोजक दिलिप कुमार कुर्मी, जनमत पार्टीका मुकेश द्विवेदी,नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का कार्यबाहक सभापति अनील सिंह, नेकपा एमालेका अजय कुमार गुप्ता, रा.प्र.पाका बिरगंज महानगरका अध्यक्ष जलेश्वर सर्राफ, ज.स.पा का मनोज कुर्मी लगायतको सहभागिता रहेको थियो ।