पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

विराट कोहलीद्वारा टी–२० आईबाट सन्यासको घोषणा

२०८१ आषाढ १६, आइतवार ०७:२२ बजे

काठमाडौं : भारतीय क्रिकेट टोलीका एक महान् ब्याटर विराट कोहलीले टी–२० आइबाट सन्यासको घोषणा गरेका छन् । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै विश्वकप च्याम्पिपयन बनेसँगै कोहलीले अब भारतबाट टी–२० आई नखेल्ने घोषणा गरेका हुन् ।
भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै बोल्नेक्रममा उनले यो आफ्नो अन्तिम टी–२० आई खेल भएको बताएका थिए ।

बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका थिए । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।
३५ वर्षीय उनले भारतबाट १२५ टी–२० आई खेलमा १ शतक र ३८ अर्धशतकसहित कुल ४ हजार १ सय ८८ रन बनाए । उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी–२० आईमा भारतबाट डेब्यू गरेका थिए । उनी टी–२० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने एक्लो खेलाडी हुन् ।