एजेन्सी- मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीवार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ ।
स्विडिश एकेडेमीले भनेको छ, “५३ वर्षीया हानलाई ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि उहाँलाई नोबेलबाट सम्मानित गरिएको हो ।” लघुकथा लेखक एवं उपन्यासकार हान उहाँको पुस्तक ‘द भेजिटेरियन’ का लागि सबैभन्दा बढी परिचित हुनुहुन्छ । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अङ्ग्रेजीमा अनुवाद गरिएको उहाँको पहिलो उपन्यास हो ।
तीन भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र त्यसले उनको व्यक्तिगत जीवनमा पार्ने विनाशकारी परिणामहरूको विवरण दिन्छ । “धेरै विधालाई समेटेको यो धेरै समृद्ध र जटिल रचना हो”, एकेडेमी सदस्य अन्ना–कारिन पाल्मले पत्रकारहरूसँग भन्नुभयो, “हान काङले वास्तवमै तीव्र काव्यात्ममक गद्य लेख्नुहुन्छ जुन कोमल र निर्मम दुवै छ र कहिलेकाहीँ केही अतियथार्थवादी छ ।”
सन् २०१३ देखि सन् २०१७ सम्म पार्क गन–ह्येको राष्ट्रपति कालमा पार्कको सरकारको आलोचनाका लागि कालो सूचीमा राखिएका नौ हजारभन्दा बढी कलाकारमध्ये हान एक हुनुहुन्थ्यो । ती कलाकारहरूले उदारवादी विपक्षी दलहरूको समर्थन गरेका थिए भने पार्कको रूढीवादी सरकार र यसका नीतिगत असफलताहरूको आलोचना गरेका थिए । यसमा सन् २०१४ को सेवोल फेरी डुबेको घटनामा करिब तीन सय जनाको मृत्यु भएपछिको असफल उद्धार प्रयासहरू समावेश थिए ।
बिहीबारको हानको नोबेल पुरस्कार विजयले पुरस्कारको प्रतीक्षामा रहेकाहरूलाई आश्चर्यमा पारेको छ किनकी घोषणाअघिको अनुमानमा उहाँको नाम समावेश भएको थिएन । गत वर्ष यो पुरस्कार नर्वेली नाटककार जोन फोसेलाई दिइएको थियो । उहाँका नाटकहरू विश्वमा कुनै पनि समकालीन नाटककारका नाटकहरूमध्ये सबैभन्दा बढी मञ्चन गरिएका छन् । एकेडेमीलाई लामो समयदेखि आफ्ना चयनहरूमा पश्चिमी गोरा पुरुष लेखकहरूको अत्यधिक प्रतिनिधित्वका लागि आलोचना गरिएको थियो ।
नोबेल पुरस्कारमा डिप्लोमा, सुनको पदक र १० लाख डलरको पुरस्कार राशि समावेश छ । हानले डिसेम्बर १० मा स्टकहोममा राजा कार्ल सोह्रौँ गुस्ताफाबाट पुरस्कार प्राप्त गर्नुहुनेछ । उक्त दिन वैज्ञानिक एवं पुरस्कार संस्थापक अल्फ्रेड नोबेलको १८९६ को मृत्युको वार्षिकी हो ।