पाठशाला न्यूज
 २०८० चैत्र १५, बिहीबार    

अतिक्रमित जग्गा खाली गराएर वृक्षरोपणको तयारी

२०८० जेठ १४, आईतबार ००:४० बजे

बारा–कोल्हवी नगरपालिका– ५ की सीतादेवी मुखिया करिब डेढ दशकअघि रौतहटबाट त्यहाँ आएर बस्न थालेकी हुन् । उनी केल्हवी आउँदा रामवन क्षेत्र गौचरन र जंगल थियो । राष्ट्रिय वनको जग्गामा सानो छाप्रो हालेर मुखियाको १५ जनाको परिवार बस्दै आएको छ । उनले वनको जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएकी छन् ।
पछिल्लो समय डिभिजन वन कार्यालय बाराले सितादेवी मुखिया सहित वनको जग्गामा बसोबास गर्दै आएकाहरुको घर टहरा हटाएर वृक्षरोपण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला वन सुरक्षा समितिले कोल्हवी–५, रामवन क्षेत्रको ७ हेक्टर राष्ट्रिय वनको जग्गामा बनेका घर टहरा हटाएर तारबारसहित वृक्षरोपण गर्ने निर्णय गरेको हो ।
सीतादेवी भने अन्यत्र बसोबासको व्यवस्था गरिदिए वनको जग्गा छोडेर वृक्षरोपणमा सहयोग गर्न आफू तयार भएको बताउँछिन् । ‘कतै एक पाइला जमिन छैन, घर भत्काएर कहाँ लैजाने ?’ उनले भनिन्, ‘१५ जनालाई बस्न ठाउँ दिनुप¥यो । बस्नलाई व्यवस्था भए हामी वनको जग्गा छोड्न तयार छौँ ।’
सीतादेवी जस्तै रामवनकै महापति देवी यादव आफू सुकुमबासी भएको र अन्यत्र बसोबासको व्यवस्था भए वनको जग्गामा छोड्न तयार भएको बताउँछिन् ।
‘हामीलाई कतै व्यवस्थापन गरिदिए यो ठाउँ छोडेर जान तयार छौं,’ उनले भनिन्, ‘वन कार्यालयले हामीलाई मात्रै होइन, अन्यत्र अतिक्रमण भएका वनको जग्गा पनि खाली गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’मुखिया र यादव जस्तै कोल्हवी नगरपालिका–५, रामवन क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीहरुलाई नगरपालिकाले अन्यत्र बसोबासको व्यवस्था गर्ने मौखिक सहमति गरेको छ ।
वन सुरक्षा समितिले पहिलो चरणमा रामवनको ७ हेक्टर राष्ट्रिय वनको जग्गा कब्जा गरेर बनेका घर टहरा हटाउन सुुरु गर्ने जनाएको हो । सुरक्षा समितिको बैठकले पूर्वमा रामवनबाट सहजनाथ साझेदारी वन जाने बाटो (सिमल चोक), पश्चिममा १४ किलोमिटर ग्य्राबेल बाटो, उत्तरमा सहजनाथ साझेदारी र राष्ट्रिय वन र दक्षिणमा रामवन गाउँबाट बोधवन गाउँ जाने बाटोको चारकिल्लाभित्र ७ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गामा बनेका घर टहरा हटाउन सुरु गर्ने जनाएको हो ।
यसअघि डिभिजन वन कार्यालय बाराले पटक पटक सार्वजनिक सूचना निकालेर राष्ट्रिय वन क्षेत्रको जग्गा कब्जा खाली गर्न तथा खेतीपाती नगर्न आदेश दिए पनि सो क्षेत्रमा स्थानीयहरुले अटेर गर्दै आएपछि वन कार्यालयले आफैले हटाउन सुरु गर्ने जनाएको हो ।
कोल्हवी नगरपालिका प्रमुख रामप्रसाद चौधरीले डिभिजन वन कार्यालयले अतिक्रमण वन क्षेत्रलाई हटाएर वृक्षरोपण गर्ने कार्य सह्राहनीय भएको बताए । उनले भने, ‘वन कार्यालयले सुरु गरेको काममा हाम्रो सहयोग रहन्छ, सो क्षेत्रमा बसोबास गर्दै आएकामध्ये वास्तविक सुकुमबासीहरुको हकमा के गर्न सकिन्छ, स्थानीय तहले निर्णय गर्दछ ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने सुकुमबासी नामधारी व्यक्तिहरुद्वारा वनको जग्गा अतिक्रमण भएकाले सो क्षेत्रको अतिक्रमण हटाएर वृक्षरोपण गरिने बताए ।
‘रामवनमा अतिक्रमणमा परेका सबै जग्गामा तारबार गरेर वृक्षरोपण गर्ने र त्यहाँ भएको बस्ती खाली गराउने निर्णय भएको छ,’ प्रजिअ सापकोटाले भने ‘आगामी दिनमा अन्य क्षेत्रमा पनि अतिक्रमण भएका सबै जग्गालाई तारबार गर्न कार्ययोजना बनाएर काम गर्न डिभिजन वन प्रमुखलाई निर्देशन दिइसकेको छु, बाँकी जग्गाहरुमा पनि क्रमवद्ध रुपमा वृक्षरोपण गर्दै जाने कार्यक्रम छ ।’ डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले अतिक्रमणमा परेको राष्ट्रिय वनको जग्गालाई खाली गरेर तारबारसहित पुनः वृक्षरोपण गर्ने योजना रहेको बताए । उनले भने, ‘हामीले रामवन क्षेत्रमा काँडेतार झारिसकेका छौँ, त्यसलाई अब घेराबेरा गरेर पानी परेपछि वृक्षरोपण गर्ने योजना छ ।’

अन्य ठाँउमा जग्गा जमिन नभएका र सो क्षेत्रमा घर भएका केही व्यक्तिलाई स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापन गर्ने निर्णय भएको र ७ हेक्टर बाहेकको क्षेत्रहरुको पनि पहिचान गरेर वृक्षरोपण गर्ने कार्यक्रम रहेको वन कार्यालयले जनाएको छ ।