पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

नेपाल ओमानसँग सुपर ओभरमा पराजित

२०८० कार्तिक १९, आइतवार १५:२९ बजे

काठमाण्डौं- किर्तिपुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमानसँग सुपर ओभरमा पराजित भएकोछ। 

यसअघि नियमित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले १८४ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको ओमानले पनि १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पच्छ्याएको नेपालले १० रन मात्र बनाउन सफल भयो।

ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । अकिब इल्यासले ३३, जीसन मकसूदले २६, मोहम्मद नदीमले २४, आयन खान र मेहरन खानले समान १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी, गुलशन झा, अविनाश बोहरा र विवेक यादवले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।

नेपालको लागि गुलशन झाले सर्वाधिक ५४ रन बनाए । कप्तान रोहित पौडेलले नटआउट ५२ रन बनाए । कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दिप जोराले १० रन बनाए ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ३ विकेट लिए । अकिब इल्यासले २ र जीसन मकसूदले १ विकेट लिए । यसअघि नै नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन्।