पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

म्याक्सवेलको शानदार ब्याटिङले अफगानिस्तान माथि अष्ट्रेलियाको अविश्वसनिय जित

२०८० कार्तिक २२, बुधवार ०७:१५ बजे

मुम्बई- ओडिआइ विश्वकप २०२३ का खेल अन्तर्गत अष्ट्रेलियाले अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको छ । ग्लेन म्याक्सवेलले शानदार शतक प्रहार गरेर उत्कृष्ट पारी खेले । उनको शानदार ब्याटिङका कारण अष्ट्रेलियाले अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य तीन विकेटको क्षतिमा पार गर्यो।

यसअघि मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा अफगानिस्तानका कप्तान हसमतुल्लाह शाहिदीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

अफगानिस्तानले अस्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनर इब्राहिम जाद्रानले शतक प्रहार गर्दै १२९ रनको अविजित इनिङ खेले ।

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले तीव्र सुरुवात गर्ने प्रयास गरे र २५ बलमा २१ रन बनाएर आउट भए ।

रहमत शाहले ४४ बलमा ३० रन, हसमतुल्लाह शाहिदीले ४३ बलमा २६ रन र अजमत उल्लाह उमरजाईले १८ बलमा २२ रन बनाए । राशिद खानले अन्तिम ओभरमा १८ बलमा ३५ रन बनाए ।

अष्ट्रेलियाका लागि जोस हेजलउडले २, मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए ।

जवाफमा २९२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात निकै खराब रह्यो । ट्राभिस हेडले खाता पनि खोल्न सकेनन् । यसपछि मिचेल मार्स पनि ११ बलमा २४ रन बनाएर प्याभिलियन फर्किए ।

अजमातुल्लाह ओमरजाईले एकपछि अर्को तेस्रो र चौथो विकेट लिएर अस्ट्रेलियाली टोलीलाई समस्यामा पारेका थिए ।

डेभिड वार्नरले २९ बलमा १८ रन बनाए भने जोस इंग्लिसले पहिलो बलमा इब्राहिम जाद्रानको हातमा क्याच आउट भए ।

अष्ट्रेलियालाई पाँचौ झटका मार्नस लाबुस्चेनको रुपमा लाग्यो । उनले २८ बलमा १४ रन मात्र बनाउन सके । रहमत शाहले उनलाई आउट गरे ।

छैटौं विकेटका लागि मार्कस स्टोइनिस आए, तर उनले पनि सात बल मात्र खेल्न सके। उनी ६ रन बनाएर प्याभिलियन फर्किए । त्यतिन्जेल अष्ट्रेलियाको स्कोर ९१/६ थियो ।

९१ रनमा टिमलाई सातौं झटका तब लाग्यो, जब मिचेल स्टार्क सात बलमा तीन रन बनाएर आउट भए । 

तर खेलको यस्तो खराब परिस्थितिलाई म्याक्सवेलले चमत्कारिक ब्याटिङ गरेर अन्तराष्ट्रिय क्रिकेटमा अत्यन्तै दुर्लभ देखिने परिणाम निकाले । उनले १२८ बलमा २०१ रन हानेर दोहोरो शतक बनाए । २१ चौका र १० वटा छक्का हानेका म्याक्सवेल खेल कै क्रममा घाईते समेत भएका थिए। 

उनी मांसपेशीको तनावका कारण बिचैमा खेल छाड्ने स्थितिमा पुगे तर उनी अडिग रहे । खेलको बिचमा ढाडमा समस्या देखिएपछि केहि बेर प्राथमिक उपचार समेत गरिएको थियो । म्याक्सवेलको यो इनिङ्समा प्याट कमिन्सको योगदानलाई पनि सम्झनुपर्छ । उनले ६८ बलमा १२ रन मात्र बनाएता पनि म्याक्सवेललाई सही समयमा स्ट्राइकमा उभिने कुरा सुनिश्चित गरिरहेका थिए। हाल अष्ट्रेलियाको टोलीले अफगानिस्तानमाथि स्मरणीय जित दर्ता गरेर सेमिफाइनलमा प्रवेश गरेको छ ।