पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक

२०८० फाल्गुन २१, सोमबार १२:०९ बजे

काठमाडौं : फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ । चार मिनेट लामो ट्रेलरले बेरोजगारी र आर्थिक पारदर्शिताजस्ता मुलुकको गम्भीर विषयलाई बेरोजकटाक्ष गर्छ । निर्माताले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै ट्रेलर सार्वजनिक गरे ।
प्रदीप भट्टराईद्वारा लिखित तथा निर्देशित फिल्ममा हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, विपिन कार्की र वर्षा राउतको शीर्ष भूमिका छ । ट्रेलरले चरित्र चित्रण र कथावस्तुलाई थप प्रकाश पारेको छ ।
कालो धनलाई सेतोमा बदल्न खोज्दा आइलाग्ने परिस्थितिलाई रोचक शैलीमा पेश गरिएको फिल्मको ट्रेलरमा सबै कलाकारलाई फिचर्ड गरिएको छ । ट्रेलरअनुसार हरिवंश फिल्ममा भ्रष्ट नेताको भूमिकामा देखिएका छन् । हरिवंश ‘जात्रा’को यो तेस्रो श्रृंखलामा पहिलोपटक देखिएका हुन् ।
फिल्मका अन्य कलाकारलाई भने अघिल्लो भागकै चरित्रको शैलीको निरन्तरता दिइएको छ । चैत ९ गते रिलिज तयारीमा रहेको यो फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् । षट्कोण आर्ट्सको ब्यानरमा फिल्मको निर्माण गरिएको हो ।