पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

मान्छेलाई के कुराले आकर्षक बनाउँछ ?

२०८० फाल्गुन ९, बुधबार २१:०५ बजे

बीबीसी : अंग्रेजीमा एउटा भनाइ छ ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन ।’
यसको अर्थ, पहिलो पटक कसैसँग भेट्दा जुन किसिमको प्रभाव छाड्नुहुन्छ त्यो उसले लामो समयसम्म याद गरिरहन्छ ।
तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो, तपाईंको आवरण दोस्रो व्यक्तिले सम्झिरहन्छ । यसबाहेक तपाईंसँग त्यस्तो के कुरा हुनसक्छ जसले अरुको हृदय स्पर्श गर्छ ? अरुको मन लोभ्याउँछ ?
आम बुझाइ के छ भने प्रेमिल सम्बन्धको सुरुवात त्यसबाट हुन्छ कि पहिलो नजरमा तपाईं कस्तो देखिनुभयो ?
यद्यपि अरु कतिपय खुबीको कारण पनि मान्छे आकर्षक देखिन सक्छ । के तपाईं स्वीकारयोग्य हुनुहुन्छ ? तपाईं कसरी बोल्नुहुन्छ ? कसरी प्रस्तुत हुनुहुन्छ ? कस्तो हाउभाउ देखाउनुहुन्छ ?

अमेरिकामा यही सेरोफेरोमा एउटा सर्वेक्षण गरिएको थियो । त्यसमा एउटा साझा प्रश्न सोधिएको थियो, ‘मान्छेको लुक्स (आवरण) बाहेक अरु के–कस्ता गुणले लोभ्याउँछ ?’
घर, गाडी जस्ता भौतिक सफलता आफूहरुलाई लोभ्याउनेमध्ये सबैभन्दा तल्लो तहको गुण भएको सहभागीहरुको राय थियो । बरु आफ्नो पार्टनरको कुरामा सहमति जनाउने, खुलेर बोल्ने, बुद्धिमानी जस्ता गुणलाई उनीहरुले शारीरिक आकर्षण भन्दा उच्च श्रेणीमा रहेको बताए ।
आवरण कति महत्वपूर्ण ?
यस सर्वेक्षणमाथि टिप्पणी गर्दै अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक गै्रग वेबस्टर भन्छन्, ‘यस किसिमको सर्भेमा मान्छेहरु यस्तो जवाफ दिने प्रयास गर्छन् कि जसलाई अरुले राम्रो मान्छ । त्यसैले यस्तो सर्भेले वास्तविक सत्य भने उजागर नहुन सक्छ ।’
त्यसो भए वास्तविकतामा मान्छेले अरुको आवरणलाई नै महत्व दिन्छन् ?

मनोवैज्ञानिक डाक्टर पूजा शिवम जेट्ली भन्छिन्, ‘सुरुवाती आकर्षण मान्छेको आवरणमा नै हुन्छ । यद्यपि यो मान्छेको हेराइमा पनि फरक पर्छ ।’
‘तपाईं कस्तो देखिनुहुन्छ ? तपाईंप्रति कसैले धारणा बनाउने त्यो एउटा पहिलो बिन्दु हुनसक्छ । तर लामो समयसम्म कसैको सुन्दरता वा आवरणले लोभ्याइरहन सक्दैन ।’
तपाईंको व्यक्तित्व, तपाईंको आवश्यक्ता र तपाईंले दुनियाँलाई कसरी हेर्नुहुन्छ भन्ने कुराले यसको निर्धारण गर्छ । पहिलो झलकमै मन परेको हुनसक्छ तर त्यसबेला आपसमा कुराकानी भएको छैन भने पछि त्यही कुराले मतभेद ल्याउन सक्छ । आफ्नो पार्टनरको कुरा सुन्नु र आपसमा सहमति बनाइराख्नु कुनैपनि सम्बन्धलाई दिगो राख्ने एउटा महत्वपूर्ण सर्त हो ।
आवरण वा सुन्दरताको कारण तपाईंलाई कुनै व्यक्ति मन परेको होला । तर उनले तपाईंको कुरालाई कति पनि महत्व दिंदैन भने तपाईंले उनलाई मनपराइरहनु हुन्छ त ?

कुनैपनि मान्छेको व्यक्तित्व मापन गर्नु सजिलो काम होइन । दशकौंदेखि साइकोमेट्रिक टेस्टमा मान्छेसँग यस्ता थुप्रै प्रश्न सोधिएको छ ताकि उनीहरुको व्यक्तित्वको बारेमा थप जानकारी प्राप्त होस् ।
कसैको व्यक्तित्व कसरी मूल्यांकन गर्ने ?
आम जीवनमा कुनै मान्छेको व्यक्तित्व कसरी मूल्यांकन गर्ने त ?
बिहेवियर एक्सपर्ट एवं लाइफ कोच आस्था दिवान भन्छिन्, ‘एउटा मान्छेको व्यक्तित्व केही कुरा मिलेर बनेको हुन्छ । तपाईंसँग कति सहज रुपमा कुराकानी गर्न सकिन्छ ? यो महत्वपूर्ण छ ।’ कुराकानी गरिरहँदा तपाईंले दोस्रो व्यक्तिलाई बोल्न दिनुहुन्छ ? तपाईंको रुचि के हो, विचार कस्तो हो, जीवनको मूल्य के हो, आत्मविश्वास कस्तो छ ? यी तमाम कुरा व्यक्तित्वको एक अहम् हिस्सा हो ।
तपाईंले यो पनि सुन्नुभएको होला, ‘विपरीत आकर्षण’ भनेको दुई व्यक्ति जो एकअर्काबाट पूर्णतया फरक छन्, उनीहरु पनि आपसमा आकर्षित हुन्छन् । किनभने व्यक्तित्वमा हुने भिन्नताले पनि मान्छेलाई आकर्षित गर्छ ।

त्यसो त मान्छेले यस्तो साथी खोजी गरिरहेका हुन्छन्, जो ऊसँग पहिलेदेखि नै परिचित छन् । जसको व्यक्तित्व, जीवनशैली र सामाजिक समूह मेल खान्छ । यो आकर्षणको आधारभूत सिद्धान्त हो ।
यसमा आस्था दिवानको टिप्पणी छ, ‘कहिलेकाहीं मान्छेले आफ्नो समान साथी खोज्छ । कहिले आफूभन्दा अलग खोज्छ । यो मान्छेको प्रवृत्ति हो ।’
खासगरी तपाईंको विचारमा, गुणमा, रोजाइमा समानता छ भने तपाईंहरु आपसमा तुरुन्तै जोडिनुहुन्छ ।
कुनैपनि सम्बन्धलाई दिगो बनाउन एकसाथ रहेर पनि आ–आफ्नो मूल्यमान्यतालाई डोहो¥याउन सक्ने अनुकूलता हुनु हो । मान्छेले सधैं आफ्नो समानता खोज्छ भन्ने होइन । कहिलेकाहीं आफूभन्दा निकै फरक व्यक्तित्वलाई पनि मन पराउँछ । यदि दुवैले एकअर्काको आवश्यक्ता पूरा गरिदिन्छ भने ।
डा. आस्था दिवानका अनुसार मित्रताभन्दा पनि आकर्षण धेरैजसो विपरीत व्यक्तिसँग हुने गर्छ । मित्रता पनि दुई पूर्णतया फक व्यक्तिबीच छिट्टै हुन्छ ।

उनी भन्छिन्, ‘मान्छेले कति पटक आफूमा के–कमी छ त्यो आफ्नो पार्टनरमा खोज्छ । र, एकअर्कासँग मिलेर त्यो कमी परिपूर्ति गर्छ ।’
सम्बन्धका लागि दोस्रोको आकर्षण गुणका साथै सहमति बनाइराख्नु निकै महत्वपूर्ण हुन्छ । ग्रेग वेबस्टरले सामाजिक मनोवैज्ञानिक एंगेला ब्रायन र अमैन्डा महाफ्फीसँग मिलेर मान्छेको व्यक्तित्वको तीन गुणमाथि शोध गरेका थिए ।
यी तीन गुण थियो, मान्छेसँग शारीरिक रुपले आकर्षित हुनु । दोस्रो, आर्थिक रुपले प्रभावशाली हुनु । तेस्रो, एकआपसमा सहमति बनाइराख्नु ।
यस अध्ययनमा पाइयो कि यी तीन गुणले मान्छेलाई आफूप्रति आकर्षित गरिरहन्छ ?
किनभने प्रत्येक गुणले कुनै न कुनै रुपमा सुरक्षा र खाना–बस्न जस्तो आधारभूत आवश्यकताहरु पूरा गर्छ । तर प्रभुत्व राम्रो वा खराब जे पनि हुनसक्छ । मान्छे सम्बन्धमा होस् वा नहोस्, तर मान्छेहरु यो कुरा आवश्य चाहन्छ कि उनको पार्टनर सामाजिक, शारीरिक र आर्थिक रुपले प्रभावशाली होस् । तर धेरैजसो मान्छेले यो कुरालाई स्वीकार गर्दैन । त्यही प्रभुत्व उनीहरुको सम्बन्धमा पनि तगारो बन्न पुग्छ ।

कुनै व्यक्तिले प्रभुत्व स्थापित गर्नुका साथै आपसी सहमति बनाउने गुण पनि छ भने त्यसले आकर्षण थप्छ ।
सारमा वेबस्टर भन्छन्, ‘सबैसँग सहमति बनाइराख्ने जुन हाम्रो गुण हुन्छ त्यो हाम्रो व्यक्तित्वको अन्य गुणमध्ये सबैभन्दा राम्रो हो ।’