पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन

२०८० चैत्र ९, शुक्रवार १७:०४ बजे

काठमाडौं- बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ।

तीन महिनाको समय पाएको यो आयोगका सदस्यहरुमा पूर्व एआइजी पुस्कर कार्की र चार्टर्ड अकाउन्टेन्ट सञ्जिब मिश्र सदस्य छन्।

गत फागुन २८ गते आन्दोलनरत मिटरब्याज पीडितहरुसँग उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोग गठन गर्ने सहमति गरेका थिए। यसअघि सरकारले २०७९ चैत २० गते मिटरब्याज पीडितहरूको समस्याबारे अनुसन्धान तथा अध्ययन गर्न अनुचित लेनदेख (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गर्दा उक्त आयोगमा ८ महिनामा २८ हजार पीडितले निवेदन दिएका थिए भने ५ हजार फर्छ्यौट भएको थियो । 

बाँकी २३ हजार पीडितहरूको निवेदन राज्यले अध्ययन गर्ने उक्त आयोगले बताएता पनि सरकारले यसमा ध्यान नदिएको पीडितहरुको आरोप लगाउँदै आएका थिए।