पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

मोबाइल एडिक्सन र असर

२०७९ भाद्र २१, मंगलबार १३:२५ बजे

अचेल स्मार्टफोन हाम्रो जीवनको अहम् हिस्सा बनिसकेको छ। हामी मोबाइल बिना केही घन्टा त धेरै भयो केही मिनेट पनि बिताउन सक्दैनौं। लगातार मोबाइल फोनको प्रयोगले हामी खतरातर्फ गइरहेका छौं।

मोबाइल फोन चलाउने प्रायः धेरैजसो मानिस ‘मोबाइल एडिक्सन’ को शिकार भइसकेका छन्। जुन कुरा उनीहरूलाई थाहै छैन। यस्तो बिरामी एक उमेर समूहमा मात्रै होइन बच्चादेखि बुढासम्म सबैलाई लागिसकेको छ। मोबाइल लगातार प्रयोग गर्नेहरूमा आफैंमाथि नियन्त्रण हुँदैन।

मोबाइल फोन सँगै नराखे दैनिक कामकाजमा, शारीरिक तथा मानिसक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नु, पारिवारिक सदस्यसँग टाढिँदै जानु मोबाइल एडिक्सन हो। यदि तपाईं बेलाबेलामा खल्तीमा मोबाइल भए–नभएको जानकारी लिइरहनुहुन्छ।
कुनै दिन झुक्किएर घरमा फोन छुटेको अवस्थामा तुरुन्तै घर फर्र्किनुहुन्छ। फर्किन नसकेको अवस्थामा दिनभरि नै तपाईंलाई काम गर्ने जाँगर चल्दैन। शौचालय जाँदा पनि मोबाइल फोनसँगै लिएर जानुहुन्छ।

फोन नआए पनि बेलाबेलामा मोबाइल अनलक गरेर हेरिरहनुहुन्छ भने तपाईं मोबाइल एडिक्सनको शिकार भइसक्नुभयो। इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल गेम्स, विभिन्न मनोरञ्जनात्मक एप्स, अनलाइन सपिङ तथा अनलाइनबाट पैसा कमाउने एप्स आदि धेरैले प्रयोग गर्ने प्लेटफर्महरू हुन्। प्रायःले धेरैजसो समय मोबाइलमा यस्तै कुराहरू हेर्ने गरेको देखिएको छ। त्यसैले मोबाइल एडिक्सनबाट कसरी जोगिने भन्ने विषयमा पनि ध्यान जान जरुरी छ।

मोबाइल एडिक्सनबाट हुनसक्ने असर
– आँखामा समस्या।
– सानो–सानो कुरामा पनि रिस उठ्नु।
– घरपरिवारबाट बिस्तारै टाढा हुनु।
– शारीरिक तथा मानसिक स्वास्थ्य खराब हुन थाल्नु।
– अल्छीपना बढ्नु।
– निद्रा नलाग्नु।
– आफ्नै दिमागमाथि पनि नियन्त्रण नहुनु।
– विस्तारै स्मरणशक्ति हराउँदै जानु।
– एकहोरो हुनु।
– अरूको कुरामा ध्यान नजानु। आदि।।।

विभिन्न एजेन्सीको सहयोगमा