पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

तराई मधेसमा तीन हप्तादेखि कठ्याङ्ग्रिँदो चिसो

२०८० माघ ७, आईतबार ०९:२८ बजे

काठमाडौं : मधेश प्रदेशमा बिगत ३ हप्तादेखि कठ्याङ्ग्रिँदो चिसो बढेको छ । बिहान अबेरसम्म नजिकै पनि देख्न नसक्नेगरी हुस्सु लाग्छ । शीतसहितको हावाले मुटु कठ्याङ्ग्रिन्छ ।
बिहान चल्ने हावामा हिँड्यो भने शरीर नै भिजाउने गरी शीत पर्छ । केही ठाउँमा दिउँसोतिर मौसम खुले पनि कतै त दिनभर नै घाम लाग्दैन । अहिलेको अवस्थालाई हेर्दा तराईका जिल्लाहरुमा शीतलहर चलेको भन्न सकिने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसम विज्ञान केन्दीय विभागका मौसम अनुसन्धानकर्ता विनोद पोखरेल बताउनुहुन्छ ।
तर जल तथा मौसम विज्ञान विभागले तराईमा शीतलहर चलेको घोषणा गरेको छैन । शीतलहर चलेको घोषणा गरेपछि प्रभावित क्षेत्रमा तीनवटै तहका सरकारहरु क्षति न्यूनीकरणका लागि सक्रिय हुनुपर्छ । पीडितहरुलाई राहत पुर्याउनुपर्छ । कतै त्यही भूमिकाबाट पन्छिन शीतलहरको घोषणा नगरेको हैन भन्ने प्रश्न उठेको छ । तर मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् सञ्जीव अधिकारी शीतलहर घोषणा गर्नुपर्ने गरी सूचकहरु पूरा नभएको दाबी गर्नुहुन्छ ।
मौसमविद् अधिकारी भन्नुहुन्छ ‘अधिकतम तापक्रम औसतमा पाँच डिग्री सेल्सियस वा त्योभन्दा कम भएमा, लगातार केही दिनसम्म उच्चतम र न्यूनतम तापक्रम बीचको दूरी पाँच डिग्री वा त्योभन्दा कम भएमा, भिजिबिलिटी वा पारदर्शीता कति छ र कतिको परिवर्तन भएको छ लगायतका सूचकका आधारमा शीतलहर घोषणा गर्ने हो । सूचक पूरा भएपछि घोषणा गर्छौँ, अहिलेसम्म सूचक पूरा भएको देखिँदैन ।’
नेपालको तराईमा तीन दशक अघिसम्म अहिले जस्तो शीतलहर चल्दैनथ्यो । सन् १९९२ पछिका हिउँदमा नेपालको तराईमा दिनभरि घाम लाग्न छाडेको हो । यसमा भारतका बिहार, उत्तर प्रदेश र नेपालको तराईमा खुलेका उद्योगले वायुमण्डल प्रदूषित हुनु मुख्य कारण रहेको विज्ञहरु बताउँछन् ।
मौसमविद्का अनुसार हिउँदमा गंगा र यमुना नदीबाट आउने जलवाष्प प्रदूषित वायुमण्डलमा मिसिन्छ । जमिनको सतहदेखि झन्डै ५ सय मिटरसम्म यस्तो कुहिरो बन्छ । जमिनको तापक्रम कम र माथिको तापक्रम बढी हुने भएकाले कुहिरो माथि जानुको साटो दायाँबायाँ फैलिन्छ । तापक्रम कम हुने र ठूलो मौसमी प्रणाली नआउने भएकाले लामो समयसम्म कुहिरो हट्दैन । शीत खसेजस्तै पानी पर्ने भएकाले यसलाई शीतलहर भनिएको हो । शीतलहर चल्दा दिउँसो तापक्रम स्थिर हुन्छ । यो क्रम हरेक वर्ष बढ्दो छ ।
यसपालि शीतलहर भनेर औपचारिक घोषणा नभए पनि प्रकृति उस्तै देखिएको छ । तीन हप्तादेखि चलिरहेको हुस्सु कुहिरोको अवस्थामा सुधार हुन पश्चिमी वायुको प्रणाली सक्रिय हुनैपर्ने मौसमविद् अधिकारी बताउनुहुन्छ ।
दिउँसो तात्न नपाएको शरीर राति बाक्लो ओढ्ने नभएपछि झन् चिसो हुन्छ । पर्याप्त तातो र झोलिलो खाना नपाउने विपन्न वर्गका मानिसले घरमै पनि ज्यान गुमाउँछन् । तराईमा अहिलेको चिसोबाट बच्न न्यानो कपडा तथा पर्याप्त तातो र झोलिलो खानेकुरा नै रहेको विज्ञहरु बताउँछन् । यस्तै, बिहान सकेसम्म घरबाहिर निस्कनुहुन्न ।
चिसोले तराईमा ज्यानै जाने अवस्था आउनुका पछाडि गरिबीसँगै चेतनाको कमी पनि भएको पाइन्छ । न्यानो कपडा किन्ने तथा अर्को वर्षका लागि राख्ने चलन नभएका समुदाय बढी प्रभावित हुने गरेका छन् । शीतलहरको अवस्था घोषणा भए पनि, नभए पनि तराईका जिल्लाहरुमा चिसोबाट नागरिकलाई बचाउन पालिका, प्रदेश र सङ्घीय सरकारले पहल गर्न ढिला भइसकेको छ ।