काठमाडौं- पार्टीको विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै नेकपा एमाले अछामले बुधवार पार्टीभित्र अनुशासन उल्लंघन गरेको आरोपमा ६ जना सदस्यलाई पदीय जिम्मेवारीबाट हटाएको छ ।
जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाहसहित सागर सिंह बाब्ली, बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुवँरलाई हटाइएको जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीम रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पार्टीको विधानको धारा ८० अन्तर्गत विभिन्न उपधाराहरूको उल्लंघन भएको बताइएको छ ।
पार्टीले भिम रावलद्वारा सञ्चालित मातृभूमि जागरण अभियानमा सक्रियताका कारण उनीहरूलाई हटाएको जनाएको छ । पार्टीले आरोप लगाउँदै भनेको छ, ‘सदस्यहरूले पार्टीलाई कमजोर बनाउने गतिविधिमा संलग्न हुँदै सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत भ्रमपूर्ण जानकारी फैलाएका छन् ।’
जिम्मेवारीबाट हटाइएका प्रकाश शाहले यो निर्णयप्रति असन्तोष व्यक्त गरेका छन् । उनले प्रक्रिया र बैठकबिना विज्ञप्तिमार्फत जिम्मेवारी हटाएको थाहा पाउँदा अचम्म लागेको बताए । ‘यो एमालेभन्दा बामालेझैं देखिन थालेको छ । पार्टीभन्दा पनि केपी ओलीको व्यक्तिगत कम्पनीजस्तो चलाउन खोजिएको छ,’ उनले भने ।
पछिल्लो समय बिशेष गरि पार्टी अध्यक्षको आलोचना गर्ने नेता तथा कार्यकर्तालाई पार्टीबाटै साधारण सदस्यता समेत नरहने गरि निष्काशन गर्ने प्रवृत्तिले लोकतन्त्रको उपहास गरेको पार्टी कार्यकर्ताहरुले बताउँदै आएका छन्।