पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुर सारियो हेलिपोर्ट

२०८१ आषाढ ९, आइतवार १२:३४ बजे

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार भइरहेको विस्तार योजनाअनुसार शुक्रवारदेखि १२ वटा हेलिकोप्टरलाई भक्तपुरको नलिञ्चोकमा सारिएको छ । नौवटा वायुसेवा कम्पनीका हेलिकोप्टर शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर नलिञ्चोक अवतरण भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जनाए ।

३३ रोपनी क्षेत्रफलमा फैलिएको हेलिपोर्ट एक वर्षअघि नै निर्माण सकिएको प्राधिकरणका इन्जिनियर विनायक भट्टराईको भनाइ छ ।

हेलिपोर्टको १३ वटा हेलिकोप्टर पार्किङ क्षमता छ । यो पोर्टमा एकैपटक चार स्थानबाट हेलिकोप्टरले उडान गर्न सक्नेछन् । ‘३३ रोपनी जग्गामध्ये २६ रोपनी हेलिकोप्टर पार्किङका लागि छुट्याइएको छ । बाँकी ७ रोपनीमा हेलिकोप्टर कम्पनीहरूका लागि कार्यालय र भवन निर्माण अन्तिम चरणमा छन्,’ इन्जिनियर भट्टराईले भने ।

प्राधिकरणले झन्डै १२ करोड रुपैयाँ लागतमा निर्माण गरेको हेलिपोर्टबाट अब देशभर उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जनाए । ‘आपत्कालीन, मेडिकल उडानलगायतका प्राथमिकतामा राखिएका हेलिकोप्टरलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको अनुमति दिइनेछ,’ महाप्रबन्धक निरौलाले भने, ‘बाँकी पर्यटकीय चार्टर उडान नलिञ्चोकबाट हुनेछन् ।’

तत्कालीन नेपाल वायुसेवा निगमले ०२३ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर सेवा पनि सुरु गरेको थियो । दर्ता भई हेलिकोप्टर उडेको ५८ वर्षमा नेपालमा १२ वटा हेलिकोप्टर कम्पनी छन् ।

तीसँग साना र ठूला गरी ३३ वटा हेलिकोप्टर छन् ।

नलिञ्चोकमा नअटेका हेलिकोप्टरलाई प्राधिकरणले सञ्चालकहरूसँग समन्वय गरी बेस स्टेसन (आधार विमानस्थल) मा पनि पठाउने जनाएको छ । केही हेलिकोप्टर अझै केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहनेछन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नलिञ्चोक उडेका हेलिकोप्टरले काठमाडौंबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारी, प्राधिकरणको सञ्चालक समितिका सदस्य, उपमहानिर्देशक देवचन्द्रलाल कर्ण, वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी प्रमुख डीआईजी रामदत्त जोशीलगायत प्राधिकरणका कर्मचारीलाई लिई नलिञ्चोक झारेका थिए ।