पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

चन्द्रपुर नगरपालिकाका मेयर र उप-मेयरको गाडी मोहले थन्कियो पाठेघरको मुखको क्यान्सर परिक्षणको स्वाव

२०८१ जेष्ठ २९, मङ्गलवार ०९:०१ बजे

जलेश्वर सर्राफ

रौतहट- चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिहरु मेयर र उप-मेयरको गाडी मोहले चन्द्रनिगाहपुर अस्पतालमा रहेको महिलाहरुको पाठेघरको क्यान्सर परिक्षण गर्न लैजानु पर्ने छ सय थान स्वाव थन्किएको छ । 

पछिल्लो समय स्वास्थ्य जस्तो अत्यन्त महत्वपूर्ण विषयसँग सम्बन्धित त्यस माथि पनि महिलाहरुको पाठेघरको क्यान्सर परिक्षण जस्तो गम्भिर बिषयमा जनप्रतिनिधिहरुको गाडी मोह अत्यन्तै गैरजिम्मेवारपूर्ण देखिएको हो । 

हाल सम्म अन्य क्यान्सरको भाइरस पत्ता नलागेपनि महिलाहरुको पाठेघरको मुखको क्यान्सरको भाइरस HPV अर्थात् ह्युमन प्यापिलोमा भाइरस भने पत्ता लागेको र उक्त भाइरसले हुने क्यान्सरको उपचार सम्भव हुनेहुँदा परिक्षणका लागि भनेर चन्द्रपुर नगरपालिका भरिका करिब छ सय जना महिलाको पाठेघरको स्वाव सरकारी अस्पतालले संकलन गरि वातानुकूलित नियन्त्रणमा संरक्षण गरि राखिएको छ। 

उक्त स्वावलाई बरफमा राखि संरक्षण गरि अस्पतालले परिक्षणका लागि काठमाडौं पठाउनु पर्ने हुँदा अत्याधिक गर्मीका कारण सुरक्षित रुपमा लैजान एसि युक्त गाडीको प्रबन्ध मिलाई लैजादा झनै सुरक्षित हुनेहुँदा नगरपालिकामा रहेको तीन वटा सवारी साधन मध्य मेयर र उपमेयर चढ्ने जिप र स्कर्पियो एसि युक्त भएको हुँदा सो गाडीबाट स्वाव लैजान पहल गर्दा दुबै जनप्रतिनिधिहरुले आफु चढ्ने सवारी साधन दिन अस्विकार गर्दा उक्त स्वाव अस्पताल मै थन्किएको हो । 

मेयर सञ्जय काफ्लेले भाडाको अर्को गाडी उपलब्ध गराइदिने जानकारी दिएपछि मेयरको गाडी मोह यतिबेला अत्यन्तै लज्जास्पद बिषय बनेको सर्वसाधारणहरु बताउँछन्। उप-मेयर जयमाला चौधरीले आफु गौर सदरमुकाम जानुपर्ने कारण देखाउँदै गाडी दिन नमिल्ने भनेपछि यतिबेला महिलाहरुको स्वास्थ्यको बिषयमा महिला जनप्रतिनिधि नै गैर जिम्मेवार देखिनु अत्यन्तै दुखदायी भएको एक स्वास्थ्यकर्मी बताउँछन्।

नाम नबताउने सर्तमा स्रोतका अनुसार चन्द्रपुर नगरपालिकामा रहेको टाटा सुमो गाडी अत्यावश्यक प्रयोगको लागी उपलब्ध हुँदाहुँदै पनि मेयर र उपमेयरले यति लज्जास्पद तरिकाले गाडी मोह देखाउनु र जनताको त्यस माथि पनि महिलाहरुको स्वास्थ्यको ख्याल नगरी गैरजिम्मेवारिपन देखाउनु अत्यन्तै दुखद कुरा भएको बताएका छन्।

जनताको रगत पसिनाको करले खरिद गरिएको करोडौ मुल्यको गाडी जनताकै सेवामा दिन्न भन्न नलजाउने जनप्रतिनिधिहरुको यो कदम अत्यन्तै खेदपूर्ण रहेको अस्पतालका अर्का एक स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा गुनासो पोखेका छन् ।

यद्यपि यसको लागि सक्दो छिटो अस्पतालले व्यवस्थापन गर्ने जानकारी समेत दिएकाछन्।