पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

चन्द्रपुर नगरपालिकाको शिक्षालाई किन ध्वस्त पार्दैछन् निरिक्षक मण्डल?

२०८१ बैशाख ११, मंगलबार १७:०५ बजे

प्रिमेश शिवाकोटी 

रौतहट- चन्द्रपुर नगरपालिका भित्र संगठित भ्रष्टाचारको नेतृत्व गरिरहेका बिद्यालय निरिक्षक दिपेन्द्र मण्डलले पछिल्लो समय शिक्षकको पदस्थापनमा अर्को लुट मच्चाएको घटना बाहिरिएको छ। 

शिक्षा सेवा आयोगको परिक्षा उतिर्ण गरि मेरिट लिष्टमा अगाडी नाम भएका शिक्षकहरु यतिबेला मण्डल बिरुद्ध उजुरी दिँदा जागीर नै धरापमा पर्ने डरले त्रसित पारिएका छन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय ईकाइ गौर रौतहटबाट जिल्ला भरिको लागि १४४ जना प्राथमिक शिक्षा त्रृतीय श्रेणी स्थायी पदका शिक्षक शिक्षिकाको दरबन्दी छनौट भएका मध्ये चन्द्रपुर नगरपालिकाको लागि १६ जनालाई छनौट गरिएको थियो। छनौट गरिएका १६ जना मध्ये मेरिट लिस्टमा अगाडी शिर्ष पाँच स्थानमा रहेका शिक्षक शिक्षिकाहरुलाई जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख राम विनय कुमार सिंहले नियमानुसार बिद्यालय छनोटको पहिलो अधिकार रहने आस्वस्त पारेतापनि चन्द्रपुर नगरपालिकाका बिद्यालय निरिक्षक दिपेन्द्र मण्डलले आर्थिक चलखेल गरि मेरिट लिस्टमा शिर्ष स्थानमा रहेका शिक्षक शिक्षिकाहरुलाई नगरको दुर्गम स्थानहरूमा पदस्थापन गरि पछिल्लो लहरमा रहेका शिक्षक शिक्षिकाहरुलाई राजनितीक दलका नेता कार्यकर्ताहरु लगायत केहि भ्रष्ट प्रधानाध्यापकहरुसँगको मिलेमतोमा नगर भित्रका सुगम स्थानमा रहेका बिद्यालयमा पदस्थापन गरि गराई मनलाग्दी गरेकाछन्। 

तिनै मध्य शिक्षिका कालिका देवि तिमल्सिना एक उदाहरण मात्र हुन् । चन्द्रपुर ९ घर भएकी शिक्षिका तिमल्सिना घरमा एक प्यारालाइसिस भएकी सासु, शारिरिक अपाङ्गता भएका देवर र सम्पूर्ण परिवारको जिम्मेवारी बोकेर बिद्यालय पनि धाउनु पर्ने बाध्यता छ। जिल्ला भरमा १४४ मध्ये १४ औं नम्बरमा सिफारिस भएकी र चन्द्रपुर नगरपालिकाको १६ जना मध्ये मेरिट लिस्टको शिर्ष दोस्रो स्थानमा रहेकी शिक्षिका तिमल्सिनाले कयौं पटक अनुरोध गर्दा पनि उनलाई जनहित आधारभूत बिद्यालय फुलवारी पुर्याइयो । शिर्ष पाँच मध्य ४ जना शिक्षक शिक्षिकाहरु हालको पदस्थापनको बिरोधमा छन् । 

निरिक्षक मण्डलको बदमासी र सुनियोजित आर्थिक चलखेलको कारण योग्य र अब्बल शिक्षक शिक्षिकाहरु पिडित हुन पुगेका छन्। 

करिब एक दशक चन्द्रपुर नगरपालिकामा कार्यरत निज मण्डलले शिक्षा क्षेत्रमा गरेको संगठित भ्रष्टाचारबाट राजधानी काठमाडौं र चन्द्रपुर नगरपालिकामा घर घडेरी जोडिसकेका छन्। एक सामान्य नासु स्तरको कर्मचारीको भड्किलो जिवन शैलि, छोटो समयमा जोडेको अकुत सम्पत्ती कहाँबाट आयो भन्ने कुराको छानविन अख्तियार र सम्पत्ति शुद्धीकरणले जब सम्म गर्दैन यस्ता शैक्षिक धमिराहरुले शिक्षा क्षेत्रलाई नै तहसनहस अस्तव्यस्त पारेर छाड्ने सुनिश्चित छ।