काठमाडौं- कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सांसद लीलाबल्लभ अधिकारीमाथि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव तस्करीको घटनामा अनुसन्धान सुरु गरेको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जानुभएका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सांसद लीलाबल्लभ अधिकारीमाथि मानव तस्करीको आरोप लागेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव तस्करीको घटनामा अनुसन्धान सुरु गरेको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन्।
तत्कालीन मन्त्री अधिकारीले प्रदेश मन्त्रीपरिषद्को निर्णयबिना तथा सङ्घीय सरकार तथा परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना यही कात्तिक १४ गते खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटासहित जापान गएका थिए।
मन्त्री अधिकारीबाहेक अन्य तीन जनालाई भने टोकियोस्थित जापानको अध्यागमन कार्यालयले प्रवेश अनुमति नदिई नेपाल डिपोर्ट गरेको थियो । नेपाल फर्काइएका तीन जनालाई सोही दिन अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । सोही प्रकरणमा नक्कली कागजपत्र तयार गर्ने गरी लिखतसम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर लामालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
आफूमाथि लागेको आरोपपछि मन्त्री अधिकारीले बुधवार पदबाट राजीनामा दिएका थिए। अपराध अनुसन्धान कार्यालयका प्रमुख भट्टराईले पक्राउ परेका आरोपितको अनुसन्धानपछि पूर्वमन्त्री अधिकारीको भूमिका खुल्ने र सोही अनुसार आवश्यक अनुसन्धान अघि बढ्ने जानकारी दिए।
जापानबाट डिपोर्ट गरिएका तीन जनाको कागजात नक्कली रहेको खुलेको छ । जापानबाट डिपोर्ट गरिएका दावा शेर्पाको नक्कली कागजात खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ को वडा सदस्य भएको बनाइएको छ ।
कञ्चन देवकोटा र जनक राईबाट बरामद कागजपत्रमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ रहेको भनी परिचयपत्र र नक्कली कागजपत्र तयार गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।
हिजो बुधवार पूर्वमन्त्री अधिकारीले भने पत्रकार सम्मेलन गर्दै नैतिकताको खडेरी परेको बेला आफुले राजिनामा दिए दाबी गरेका थिए। उनी नेकपा एमालेको तर्फबाट कोशी प्रदेश सरकारमा सामेल थिए।