पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

केजरीवालको रिहाई फेरी अनिश्चित

२०८१ आषाढ ७, शुक्रवार १९:२६ बजे

काठमाडौं- भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २-३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राखेको छ ।

अदालतले यसअघि राउज एभिन्यू अदालतबाट अरविन्द केजरीवाललाई दिइएको जमानतमा रोक लगाएको थियो । यसका साथै केजरीवाललाई दिइएको जमानतमा रोक लगाउन दायर गरिएको ईडी याचिकामा उच्च अदालतको निर्णय नभएसम्म अरविन्द केजरीवाल जेलबाट रिहा नहुने भएका छन् ।

उच्च अदालतले मंगलबारसम्म ईडीको याचिकामा आफ्नो आदेश दिन सक्ने भारतीय मिडियाहरुले बताएका छन् । केजरीवाललाई मार्चमा कथित मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतले केजरीवाललाई आम चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएपछि उनी २१ दिन बाहिर बसेर २ जुनमा फेरि तिहाड जेल गएका थिए ।

उनलाई राउज एभिन्यू अदालतले शुक्रबार साँझ जमानतमा रिहा गर्ने आदेश दिएको थियो । सो आदेशको विरुद्ध ईडीले दिल्ली उच्च अदालतमा याचिका दायर गरेपछि उनको रिहाई अनिश्चित बनेको छ ।