पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

आज ७४ औं प्रजातन्त्र दिवस मनाइँदै

२०८० फाल्गुण ७, सोमवार ०८:१६ बजे

काठमाडौं : आज फागुन ७ गते, प्रजातन्त्र दिवस । नेपालको ७४ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ ।
फागुन ७ गतेको दिनलाई सर्वसाधारण जनताले स्वतन्त्रता पाएको दिनका रुपमा स्मरण गरिन्छ । वि.सं २००७ मा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएर रैतीबाट जनतामा रुपान्तरण भएको दिन हो । सशस्त्र संघर्षबाट १०४ वर्ष लामो राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा यो दिवस मनाउने गरिएको छ ।
भूमिगत प्रजापरिषद् नामक राजनीतिक दल स्थापना गरी प्रजातन्त्रका खातिर जनतामा जागरण ल्याएको अभियोगमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई विसं १९९७ साल माघमा मृत्युदण्ड दिइएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनमा राजसंस्थाले पनि साथ दिएपछि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना हुन सम्भव भएको थियो ।
यही प्रजातन्त्र आएकै बलमा देशले लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पाएको छ । प्रजातन्त्र दिवस भव्य रुपले मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।