पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

मध्यरातमा 'फेरी' लगाउने चलन !

२०८० चैत्र १७, शनिबार १४:२८ बजे

फोटो साभार: वि.संं २०३२ साल ताका तनहुँ जिल्लामा फेरी लगाउँदै गरेका जोगी । 

चैत र कात्तिक महिनामा घरघरमा गएर फेरी लगाउने परम्परा वर्षाैदेखिको हो । फेरी लगाएमा घरको रक्षा हुने र भूत नआउने जनविश्वास छ । फेरी लगाउने व्यक्तिहरुलाई फेरी लगाउने घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यु लगायत दान दिने परम्परा छ ।

रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जोगीहरुले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । फेरी लगाएर मन्त्रपाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ ।

फेरी लगाउने परम्मपरा धार्मिक विश्वाससँग जोडिएको छ । तर फेरी लगाएर मात्रै यो समुदाय माथि उठ्न सक्ने अवस्था छैन । फेरी लगाउने योगी, जोगी समुदायलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिकस्तरमा सबल बनाउन भने पहल गर्न भने आवश्यक छ ।

धार्मिक आस्थासँगै जोडिएको फेरी लगाउने परम्परा वर्षोदेखि जोगी , योगीहरुले निरन्तरता दिदै आएका छन् । युवा पुस्ताले भने फेरी लगाउन पेशामा त्यति धेरै चासो देखाएका छैनन् । त्यसैले आफूहरु नरहेपछि यो परम्परालाई कस्ले निरन्तरता देला भन्ने चिन्ता जोगीहरुलाई छ ।

फेरीको महत्व

कानफटा जोगी(नाथ)हरु कात्तिक र चैत महिनामा फेरी लगाउने गर्छन् । फेरी लगाएमा घरको रक्षा हुने, भूत पिचाश नआउने जनविश्वास छ । कानफटा जोगीहरुलाई मंगलबार र शनिबार टीका लगाएर दान दिने गर्छन् । चामल, धान, बेसार, तरकारी, नुन, तेल, घिउ, दक्षिणा, कालो कपडा लगायतका वस्तु दान गर्ने चलन छ ।

रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जीविकोपार्जन गर्दै आएका छन् । फेरी लगाएर मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ ।

फेरी लगाउँदा छेद, भेद, मरिद, मसना, डंकिनी, भूत र पिचासले दुःख नदिओस् भनेर मन्त्रोचारण गर्ने गरेको उनीहरुको भनाइ छ । अघिल्लो रात फेरी लगाउने र भोलिपल्ट दान लिँदै हिँड्ने योगीलाई भक्तहरूले पनि अन्नबालीमा ‘सह’ बस्ने, घरमा भूतप्रेत तथा पिचासले बास नगर्ने विश्वासमा अन्न दान गर्दछन ।

मध्यरातमा बजाईने नाद

नादको अर्थ हो आवाज निस्किनु हो । पवित्र काठ र धातुहरुबाट निर्माण गरिएको वस्तुलाई मुखले फुक्दा आवाज आउने हुनाले यसलाई नाद भनिएको हो । नादलाई नाथ योगीहरुले कुनै पनि शुभकार्य गर्नुअघि तीनपटक फुकेर मन्त्र जप गर्ने गरेको बताउँछन् ।

यो तीन पटकदेखि छ पटकसम्म पनि विभिन्न देवीदेवताहरुको स्मरण गर्दा फुक्ने चलन छ । गुरुलाई स्मरण गर्दा तीनपटक र अरु देवीदेवताहरुलाई स्मरण गर्दा छ पटक बजाउने चलन रहेको नाथयोगीहरु बताउँछन् ।

अशंमा समेत नाद

यो समुदायमा विवाहपछि परिवार छुट्टिँदा अंशका रूपमा फेरी लगाउने बराँठको सिङ दिने चलन थियो । अभिभावकले बराँठको सिङ दिँदै पुख्र्यौली पेशा नछाड्न फेरी लगाएर जीविकोपार्जन गर्न आशीर्वाद दिने गरेको उहाँ बताउनुहुन्छ । युवा पुस्ताले लाज मान्नु, पेशाबाट आत्मसम्मान नपाउनु, अन्य समुदायले हेयका दृष्टिले हेर्नु, वर्षभरि काम नपाउनु, आकर्षक कमाई नहुनुलगायत कारणले यो पेसा अँगाल्न नमानेको उहाँले बताउनुभयो ।

सुरक्षा र सम्मान आवश्यक

फेरी लगाउने जोगीहरु रातको समयमा गाउँ डुल्नुपर्ने भएका कारण सुरक्षाको अनुभूति हुनुपर्ने योगी रुद्रनाथले बताउनुभयो । रातको समयमा फेरी लगाउन जाँदा असुरक्षा बढेको कारण समस्या भएको उहाँले बताउनुभयो । संस्कृति र धार्मिक परम्परा धानेका योगीहरुको सम्मान गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । चलिआएको परम्परा र संस्कार संरक्षणका लागि कानफटा योगीहरुको सुरक्षा र सम्मानमा ध्यान दिन सके परम्परा जोगिने उहाँको भनाइ छ ।

साभार: ओल्ड फोटोज अफ नेपाल डट कम