गीत
तिम्रो उही झझल्को राख्तोछ प्राणलाई
- कुलचन्द्र कोइराला
टाढा म छु तथापि झन् झन् नजीक आशा
सम्झ्यो जति उति नै बढ्दो छ यो पिपासा
लाग्छन् उराठ सारा संसार नै मलाई
तिम्रो उही झझल्को राख्तोछ प्राणलाई |
तस्वीर भै गढेका काला समुग्ध आँखा
टल्पल् भरेर आँसु टोलाउँदै भिजेका
साँच्चै नबिर्सनू है भन्छन् सँधै मलाई
तिम्रो उही झझल्को राख्तोछ प्राणलाई |
बोली घुटुक्क निल्दै मनमा निसास्सिएका
ती भावना मुटुका गाँठो परी बसेका
झल्झल् गरी मलाई घेर्छन् सँधै सताई
तिम्रो उही झझल्को राख्तोछ प्राणलाई |
त्यो वेगले चलेको निःश्वाशको पुकारा
ती आँसु शूलझैं छन् छातीभरि हजारा
देख्छु तिनै इसारा त्यै टाउको हिलाई
तिम्रो उही झझल्को राख्तोछ प्राणलाई |
(गीतकार-स्व. कुलचन्द्र कोइराला/ प्रकाशक एवम् सम्पादक, स्व. जीवनचन्द्र कोइराला/ संगीत-समिर ढुंगेल/ स्वर-शिशिर योगी)