पाठशाला न्यूज
 २०८१ बैशाख १३, बिहीबार    

संकल्पको १४ औं बार्षिक साधारण सभा सम्पन्न

२०७९ आश्विन ९, आईतबार १२:०० बजे

दिपु मिश्र
रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार जन ज्योति माध्यामिक बिद्यालयको प्राङ्गणमा एक वृहत कार्यक्रमको आयोजना गरी संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो । सो सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले गरेका थिए ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख प्रशासकिय अधिकृत पुरीले पुजी बृद्धि गर्न नसक्ने साना सहकारीहरु मर्जको प्रक्रियामा जानु पर्ने बताए । सहकारी दर्ता गर्ने उदेश्य अनुरुप कार्य गर्न नसक्ने सहकारी अर्को सहकारी संग मर्ज हुनु पर्ने यात खारेजी प्रक्रियामा जानु पर्ने बताए । उनले ठुला पुजी भएका सहकारी संस्थाले उद्योग स्थापना गरेर रोजगारीको सृजना गरी गरिबी निबारणमा टेवा पुरयाउनु पर्ने सुझाब दिएका थिए । चन्द्रपुर नगरपालिकाले सहकारी ऐन पारित गरेको भन्दै उनले सहकारी संस्थाका पदाधिकारीहरु संग नगरपालिकाले मासिक बैठक गर्दै सुधारका नीति अबलम्बन गर्ने बताए ।
सभामा संस्थाका अध्यक्ष बिभु पोखरेलले समितिको तर्फ बाट बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै उनले एकै परिवारका संचालक समिति भएका कयौं सहकारीहरु असफल भएका छन्,तर समाजमुखी,सेवामुखी सहकारीहरु सफल भएका छन् । हाम्रो सहकारी संस्थाका संचालकहरु एकै परिवारका छैनन् । हामी सेवामुखी उदेश्यले बिगत १४ औं बर्षदेखि निरन्तर सेवा दिदै आएका छौ ।
कार्यक्रमा आफ्नो मन्तब्य राख्दै गुञ्जन एफएमका स्टेशन म्यानेजर तथा बरिष्ठ संचारकर्मी संजय कार्कीले हरेक बर्ष यस संकल्प बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभामा आइरहदा प्रगतिनै भएको मात्र देखेको बताउदै सहकारीलाई सफलताको शुभकामना व्यक्त गरे । उनले सहकारीको कारण चन्द्रपुर नगरपालिकामा महिला हिंसाका घटनाहरु न्युनिकरण भएको देखिएको कुराहरुलाई प्रष्ट पारेका थिए । बिपन्न बर्गका महिला पुरुषहरु पनि सहकारीमा जोडिदै गएको कारण आर्य आर्जनको बाटो तिर लम्केको बताए ।
संस्थाका अध्यक्ष पोखरेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा चन्द्रपुर वडा नम्बर ५ का वडा अध्यक्ष निलहरी कोईराला,वडा नम्बर ६ का अध्यक्ष सहदेव केसी,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा(सुरेन),चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश गहतराज,स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र राना,प्रकाश तिमल्सिना लगायत संस्थाका उपाध्यक्ष कृष्णचन्द्र पोखरेल,सचिब कुल बहादुर थापा,कोषाध्यक्ष बलराम गौतम,लेखा सुपरिबेक्षण समितिका संयोजक गणेश पौडेल,संस्थाका सहसचिब चिरञ्जिबी गौतमले आ–आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका सम्पुर्ण सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।