पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

मौलापुरमा फर्किए विद्युत कर्मचारी

२०७९ चैत्र १९, आईतबार १७:३३ बजे

मौलापुर–रौतहटको मौलापुर विद्युत् कार्यालयका कर्मचारीहरू काममा फर्किएका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पहलमा शनिवार जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको सर्वपक्षीय छलफलमा सहमति भएपछि कर्मचारीहरू काममा फर्केका छन् ।
मौलापुर नगरपालिकाले गत फागुनमा आयोजना गरेको मधानी महोत्सवको क्रममा केही स्थानीयवासीले मौलापुर विद्युत् कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले काम रोकेका थिए ।
दुर्व्यवहार गर्नेहरूमाथि कारबाही हुनुपर्ने माग राखी कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए । मधानी महोत्सवमा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनसहित नेपाली तथा भारतीय कलाकारहरुको सहभागिता रहेको थियो ।
शनिवार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी मिश्र, नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश निर्देशक मुनिन्द्र ठाकुर, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपि माधव रेग्मी, राष्ट्रिय अनुसन्धान प्रमुख एसपि चन्दनकुमार झा, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विद्युत् प्राधिकरणका विभिन्न कर्मचारी संगठनका प्रतिनिधिसमेतको सहभागितामा भएको सर्वपक्षीय छलफलमा सहमति जुटेको हो ।
मधानी महोत्सवको आयोजना मौलापुर नगरपालिकाले गरेको र सोही महोत्सवको क्रममा विद्युत् आपूर्तिको विषयलाई लिएर कर्मचारीमाथि दुर्व्यवहार भएकोले उक्त घटनाको जिम्मेवारीमा मौलापुर नगरपालिकाको पनि जबाफदेहिता भएको भन्दै नगर प्रमुख रिनाकुमारी साहले घटनाप्रति दुःख व्यक्त गर्दै माफी मागेपछि घटनाको सम्पूर्ण विषय साम्य भएको हो ।
नगर प्रमुख साहले बन्द रहेको विद्युत् कार्यालय संचालन गर्न र कर्मचारीहरुलाई काममा फर्किन आग्रह गरेपछि कर्मचारीहरू काममा फर्किन सहमत भएका हुन् ।
सर्वपक्षीय छलफलमा प्रजिअ मिश्रले मौलापुर नगरपालिकाले विद्युत् कार्यालयसित समन्वय गरेर अन्य समस्या भए पनि समाधान गर्न आग्रह गरेका छन् ।