पाठशाला न्यूज
 २०८१ चैत्र ६, बुधवार    

जिबीको सहकारी ठगी धन्दामा राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरको ‘कनेक्सन’ रहेको खुलासा

२०८१ कार्तिक ७, बुधवार ०९:३१ बजे

काठमाडौं- जिबी राईले पाँचवटा सहकारीको रकम अपचलन गर्दा पूर्वप्रदेश प्रमुखसमेत रहेका बाबुराम कुँवर उनको कानुनी सल्लाहकार थिए, आइजिपी वसन्तबहादुर कुँवरका सहोदर दाइ उनीमाथि न प्रहरीले अनुसन्धान गर्‍यो, न संसदीय छानबिन समितिले बयान लियो।

जिबी राईको सहकारी ठगी धन्दामा राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरको पनि ‘कनेक्सन’ देखिएको छ ।

जिबीले पाँचवटा सहकारीको रकम विभिन्न कम्पनीमा लगेर अपचलन गर्दा पूर्वप्रदेश प्रमुखसमेत रहेका कुँवर उनको कानुनी सल्लाहकार रहेको खुलेको छ । उनी नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरका सहोदर दाइ हुन् ।

जिबीको व्यक्तिगत मात्र नभई रकम अपचलन गरिएका संस्थामा पनि कुँवर कानुनी सल्लाहकार थिए । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिले नै यसलाई पुष्टि गरेको छ भने प्रहरी अनुसन्धानबाट पनि उनको ‘कनेक्सन’ देखिएको छ । तर, राजकीय सत्ता र प्रहरी प्रशासनमा भएको पहुँच र शक्तिका कारण कुँवरमाथि अनुसन्धान नै गरिएको छैन ।

स्रोतका अनुसार सहकारीको रकम अपचलन भएका वेला जिबी राईको नेचर हर्ब्सलगायत कम्पनीका कानुनी सल्लाहकारका रूपमा कुँवरले काम गरेका थिए । जिबीको मुख्य कानुनी सल्लाहकारको भूमिकामा पनि थिए । त्यसबापत उनले डेढ वर्षसम्म पारिश्रमिक नै बुझेका छन् । कतिसम्म भने जिबीका कम्पनीका साधारणसभामा समेत कुँवरले भाषण दिने गर्थे । ९ पुस ०७७ मा गोर्खा ग्रुप अफ कम्पनीको एक कार्यक्रममा उनले भाषण गरिरहेको तस्बिर सार्वजनिक भएको छ । जिबीका हरेकजसो कम्पनीमा उनी कानुनी सल्लाहकार थिए । तिनै कम्पनीमा पाँचवटा सहकारीको रकम लगेर अपचलन भएको थियो । जसकारण हाल हजारौँ सर्वसाधारणको बिचल्ली भएको छ ।

संसदीय छानबिन समितिका सभापति सूर्य थापाका अनुसार कुँवरको भूमिका जिबीको मुख्य ब्याकअपका रूपमा थियो । ‘उहाँ (कुँवर) जिबी राईको मुख्य ब्याकअपका रूपमा देखिनुहुन्छ, छविलाल जोशीलगायतलाई जिबी राईसँग जोड्न पनि उहाँको भूमिका थियो । कुनै कम्पनीमा जिबी राईसँग पार्टनर पनि हुनुहुन्थ्यो भन्ने कुरा आएको थियो, तर हामीलाई गोर्खा मिडिया नेटवर्कमा केन्द्रित भएर अनुसन्धान गर्ने जिम्मेवारी भएकाले त्यसतर्फ खोज्ने समय पुगेन,’ उनले भने, ‘कुँवरविरुद्ध उजुरी पनि परेको थिएन, हामीसँग समयसमेत निकै कम भएकाले सोधपुछमा बोलाउन भ्याएनौँ ।’

छानबिन समितिका एक सदस्यका अनुसार विदेश भाग्नुअघिसम्मै जिबीलाई कुँवरले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सघाएको देखिन्छ । सहकारी विभागबाट पासपोर्ट रोक्का राखेकामा त्यो उजुरी रातारात मिलाएर अरू उजुरी रोक्दै उनी विदेश भागेका थिए । जब कि त्यतिवेलासम्म उनका सबै सहकारीविरुद्ध उजुरी पर्न थालिसकेको थियो । जिबीका सबै कम्पनीको विवरण निकालेर छानबिन गरे त्यसमा कुँवरको साझेदारीसमेत बाहिर आउने ती सदस्यको भनाइ छ ।

जिबीका पूर्वसाझेदार छविलाल जोशीले पनि जिबी र कुँवरको घनिष्ठता खुलाएका छन् । आफू कुँवरकै सल्लाहमा जिबीसँग व्यावसायिक साझेदार बनेको संसदीय छानबिन समितिसमक्ष उनले बयान दिएका छन । सन्दर्भ सामग्री: विश्वखवर