कथा
खेल
- रामलाल जोशी
रेडियो थिएन । टिभी थिएन । कम्प्युटर थिएन। फोन थिएन। मोबाइल थिएन । साइकल थिएन । गाडी थिएन ।
के थियो त ?
चिलगडी।
बस्, एउटा चिलगाडी थियो, त्यस बेला। आकाशमा प्रायःजसो घुमिरहन्थ्यो । धर्तीबाट हेर्दा आकाशमा चिलजत्रै देखिन्थ्यो। चिलजस्तै उडिरहन्थ्यो प्रायः । चिलगाडीको आवाजले हामी रोमाञ्चित हुन्थ्यौ। घरभित्रबाट बाहिर निस्किन्थ्यौं । झाडीबाट खुला फाँटतर्फ दौडिन्थ्यौ। एउटा हातको पाली बनाएर सूर्यका किरणलाई छेक्दै चिलगाडी उडेको तर्फ हेरिरहन्थ्यौ। चिलगाडीको आवाज सुन्नेबित्तिकै रूपा मुख आकाशतिर फर्काएर उफ्रिँदै कराउँथी चिलगाडी, मेरो बाबालाई ल्याइदे.. मेरो बाबालाई ल्याइदे ।"
शान्ति, लीलावती, मालती, च्यान्टे, जैभाने, गोरे, सबैजना उफ्रेर कराउँथे- चिलगाडी, मेरो बाबा ल्याइदे । मेरो बाबालाई ल्याइदे ।"
सबैका बाबा प्रायःजसो बम्बै गएका हुन्थे । जोरजोरले कराएपछि चिलगाडीले आफ्नो बाबालाई ल्याइदिन्छ भन्ने बालविश्वास सबैमा हुन्थ्यो । आवाज आकाशसम्मै पुग्ने किसिमले रूपा कराउँथी- "चिलगाडी, बम्बैबाटी मेरा बाबालाई ल्याइदे ।"
रूपासँगै सब कराउँथे । कराउँदा कराउँदै उफ्रिन्थे। फेरि चिच्याउँथे । चिलगाडीसँगै दौडेर फेरि कराउँथे। म पनि त्यो रमाइलोबाट आफूलाई रोक्न सक्दिनथे । मेरो अन्तर्हृदयबाट उल्लास उर्लेर आउँथ्यो। म झनै जोरले चिच्याउँथे- 'चिलगाडी, मेरो बाबालाई ल्याइदे ।"
आकाशको एउटा कुनामा देखिएको चिलगाडी अर्को कुनामा पुगेर नबिलाउन्जेलसम्म हामी उफ्री उफ्री कराइरहन्थ्यौ । आकाशको चिलगाडीसँग गरेको बाल अनुरोधलाई रमाइलो मानेर बुढापाकाहरूले हेरिरहे पनि मेरो चिच्याहटसँगै आमा घरको भित्तातिर मुख फर्काउनुहुन्थ्यो र घ्वाँ-घ्वाँ रोएको म देख्थे । काइँली फुपू भन्नुहुन्थ्यो- बम्बै गएका मुन्छेलाई पो चिलगाडीले ल्याउँछ त, मरेका मुन्छेलाई पनि ल्याइदे भनेर ल्याउला र ? तैले तेसो भन्नुहुन्न बा, तेरा बा त मरिसके । अब चिलगाडीले कैल्यै ल्याउँदैन ।
मेरो मनमा भक्कानो फुटेर आउँथ्यो । शरीरमा चिड्चिडाहट पैदा हुन्थ्यो । सबैका बालाई चिलगाडीले ल्याउने रे। सबैका बाले नौलानौला लुगा र खानेकुरा ल्याउने रे, तर मेरा बालाई चिलगाडीले कैल्यै नल्याउने रे । मर्न छोडेर मेरा बा पनि बम्बै गएका भए हुने नि। यस्तो सोच्दै म समयसँग ठुस्केर रूड्नी फेदमा बटारिइरहन्थे । साथीहरूसँग अलग भएर धेरै बेरसम्म कसलाई हो कुन्नि घुर्की लगाइरहन्थे ।
धेरै बेरपछि रूपा आएर फकाउँथी रघु, चिलगाडी त उः द्वारीडाँडापारि बिलाइसक्यो । आऊ, अब हामी इजरकाटी खेलौ ।"
रूपाले दुइटा हँसिया लिएर आउँथी। एउटा मलाई दिएर भन्थी लेऊ रघु, तिमी यसले काट ।"
गाउँका बुढापाकाहरू डाँडापाखामा इजर काट्न गएका हुन्थे । डाँडापाखाका ससाना रूख, झार र बुटाहरू फाँडकुँड गर्थे । उजाड बनाएपछि त्यसैमा गहत र मास छर्थे । हामी घरमा इजर काट्न थाल्यौ । त्यस दिन रूपाका हातमा एउटा हँसिया थियो । मेरो हातमा अर्को। हामी मकैबारीको एउटा छेउबाट इजर काट्न थाल्यौ । रूपा र म दुई जना मिलेर असारका दुई कान्ला मकै स्वाहा । मकैबारी फाँडेर उजाड बनाएपछि भन्यौ लौ, अब इजर तयार भो । मास छर्नुपर्यो ।
साँझमा आमा जब घर फर्किनुभयो, मकैबारी हेरेर बौलाहीजस्तै हुनुभयो । हातमा बाँसको लौरो लिएर मलाई लखेट्न थाल्नुभयो । म भागेर पर ऐरीझारमा पुगिसकेको थिएँ। उता हेर्छु त रूपाका बा सिस्नु पानीमा चोबेर तडातड रूपाका कलिला हात र खुट्टामा हिर्काउँदै थिए । कसरी-कसरी फुत्केर विच्याउँदै रूपा मै भएतिरै दौडिई। भागेर हामी कति टाढा पुग्यौ, थाहा भएन । राति अबेरसम्म पनि नफर्किदा फेरि उहाँहरू हैरान । खोज्दाखोज्दै जब हैरान भएका देख्यौ । अनि घोसेमुन्टो लाएर घर फर्कियौ । यो बालबिठ्याइँले नै पनि हाम्रो बाललीलालाई आनन्दमय बनाएको थियो। जीवनको एक अनमोल क्षण थियो त्यो ।
***
बज्यै भन्नुहुन्थ्यो काम गर्न सिक न बाबै, लगाएको खेती फाँडेर पनि खान पाइन्छ ? तिमीहरूको उमेरमा त हाम्रो बिहे भैसक्याथ्यो बाबै । तेरा बाजे तँजत्रै हुँदा परदेश गैसक्याथे । म रूपाजत्रै थिएँ। घर सम्हालेर बसें । सासू-ससुराको सेवाचाकरी गरेर बसे। तिमीहरू नहुने मेलो गर्छ । कसरी गरी खान्छौ बा, काम गर्न सिक न, काम ।
अर्को दिन खेल्दै जब पीपलचौरको मैदानमा पुग्यौ, मैले भने 'लौ अब बिहे गर्ने ।
रूपा, लीलावती, शान्ति, मालती, गोरे, च्यान्टे, जैमाने सबै खुशीले उफ्रे- लौ, अब हामी बिहे गर्ने ।
सबैभन्दा अगाडि रूपाले उफ्रिदै मेरो हात समाएर भनी म तँसँग मात्तै बिहे गर्छु ।
जैभानेले भन्यो- 'तेसो भे तिमीहरू मात्तै बिहे गर। म गर्दिनँ।
ऊ ठुस्केर पीपलको फेदमा घोसेमुन्टो लाएर बस्यो । गोरेले मालतीसँग बिहे गर्ने भयो । लीलावती र च्यान्टेको जोडी खूब सुहायो । जैभानेलाई मैले भने, 'शान्तिसँग बिहे गर्न । किन ठुस्केर बस्छस् बाउँठे ?
तै गर् न पाजी, त्यो चन्डाल्नीसँग ।
ऊ झन् ठुस्कियो । शान्ति अशान्त भई। रून्चे स्वरमा भनी 'मसँग को बिहे गर्छ त अब ?
जैमाने गर्छ नि ।', मैले भने ।
"गर्दिनँ त्यो कुक्कुरसँग ।", ऊ झन् ठुस्किई ।
जैभानेलाई सोधे, 'कोसँग गर्छस् त ?"
'म रूपासँग मात्तै गर्छु ।', घोसेमुन्टो लाएर भन्यो ।
अब ठुस्किने पालो रूपाको थियो। ठुस्केरै भनी “म त्यो फोक्सेसँग बिहे गर्दिनँ।"
मैले रूपाको कानमा फुसफुस गरें- 'ऐले एक छिन मात्रै त्योसँग गर के । पछि तिमी र म बिहे गरौला । त्योसँग त ख्यालख्याल हो के।"
रूपाले मेरो वचन हार्न सकिन । असाध्यै मायालाग्दो मुख बनाएर एकपट्टि टाउको हल्लाई जैभाने खुशी भयो युद्ध जितेजस्तै मान्यो उसले
रूपा निन्याउरो मुख लगाएर जैभानेसँग गई। मलाई असाध्यै माया लाग्यो त्यस बेला रूपाको। शान्ति मेरो हात समातेर उभिई। हामी सबैले एक-एकवटी स्वास्नी बिहे गयौ ।
स्वास्नीको आङ ढाक्न बम्बै जानै पर्ने बाध्यता हुन्थ्यो । बिहेपछि स्वास्नीलाई छोडेर हामी नजिकैको झाडीमा बम्बै गयौ । बम्बैबाट फर्किंदा खुला दुबीचौरमा स्वास्नीहरू आँखा चिम्म गरेर लहरै सुतेका हुन्थे । एक छिन आ-आफ्नी स्वास्नीमाथि चढ्थ्यौं । केही बेरपछि लीलावती, मालती र शान्तिले लाम्चा परेका ढुङ्गा अथवा काठका टुक्रालाई काखमा लिएर नवजात शिशुको आवाजमा आफैं च्यहाँ च्यहाँ गर्थे र आफ्ना छोराछोरीलाई छाती खोलेर दूध चुसाउँथे । ठीक यसै बेला आफूमाथि चढ्न लागेको जैभानेलाई लात्ताले हिर्काएर रूपा चिच्याउँथी- "तँ माँटोक्नेसँग म बिहे खेल्दिनँ । उता मर् राँडीका छोरा !"
रूपा ठुस्केर मेरो हात समात्न आइपुग्थी। जैभाने मुरमुरिएर फेरि पीपलका फेदमा बटारिन्थ्यो । अब जैभानेले उपद्रो गर्ने भो। म डराउँथे। म फेरि रूपाको कानमा फुसफुस गर्थे- ऐले एकै छिनलाई हो क्या, पछि हामी बिहे गरौला ।"
रूपा र जैभाने फेरि लोग्नेस्वास्नी हुन्थे। हामी फेरि पनि पीपल चौरको झाडीमा बम्बै जान्थ्यौ । बम्बैबाट फर्किंदा सबैका स्वास्नीहरू दुबीचौरमा लहरै सुतेका हुन्थे । हामी फेरि आ-आफ्नी स्वास्नीका माथि चढ्थ्यौ ।
एक दिन मितबाका पछाडि लागेर म द्वारीडाँडाको लिस्नेभीरबाट तल ओर्लिएँ । घरबाट साथीहरूसँग छुट्टिएर आउनुपर्दा मलाई असाध्यै नरमाइलो लाग्यो । आफ्नो लोग्ने बनेको जैभानेलाई लात्ताले हिर्काएर मसँग टाँसिन आउने रूपा बाटोमा पनि मसँगै हिंडेको अनुभव गरिरहें । खुल्लीखोलाको तीरैतीर हिंड्दा पश्चिमको सूर्यलाई छेकेर बनेको मेरो छायाँ मसँगै लम्किरह्यो । म त्यसलाई रूपा नै हो भनेर भ्रमित भैरहन्थे। बाटामा भेटिने ठूला खोलामा मितबा मेरा हातै समातेर पारि तार्थे। म रूपाले हात समातेको कल्पना गर्थे । बाटामा कति गाईगोठ भेटिए । कुखुरा, बाखा र बँदेल पालेका कति खर्क भेटिए । साँझपख लहरै आगो बालेर कुखुरा, कालिज र लुइँचेका मासु भुटिरहेका कति हटारूहरू देखिए । मन त्यसै त्यसै रमाइरहेको त थियो परन्तु पीपल चौरको जस्तो रमाइलोचाहि थिएन ।
तेस्रो दिनको दिउँसो झाप्रीखोला तरेर उकालो हिंडेपछि मालिकाको डाँडाबाट तल समथर फाँट देखाउँदै मितबाले भने उः त्यै हो मलवार, चारोटा नदी तरेर जङ्गल छिचोलेपछि गौरीफन्टा आउँछ । त्याँबाट रेल चढेर तीन दिनमा हामी बम्बै पुगिहाल्छौं ।"
***
मितबाको बम्बै म पैलोचोटि जाँदै थिएँ। यसअघि हामी पीपलचौरको बम्बै जान्थ्यौ । कैले शान्तिसँग, कैले रूपासँग बिहे गरेर म बम्बै जान्थे । पछिल्लो पटक पीपलचौरमा रूपासँग बिहे खेलिसकेपछि त्यो खेल प्रायः बन्द भएको थियो । रूपासँग खेलेको अन्तिम बिहेलाई सम्झिंदै म बम्बै जाँदै थिएँ । पीपलचौरको होइन, साँच्चिकैको बम्बै । मालिकाको डाँडा काटेको पाँचौ दिनमा हामी बम्बै पुग्यौ । मितबाको बम्बै अर्कै थियो ।
साँच्चिकैको बम्बै पीपलचौरको बम्बैजस्तो थिएन। त्यहाँ अग्ला घरहरू थिए धेरै, हाम्रो सल्लेघारीका सल्लाका रूखहरूजस्तै । घरैघरको जङ्गल थियो बम्बै । समुद्र थियो, झाप्री खोलाका नीला तालहरूभन्दा भयानक । सयौ चिलगाडीहरू थिए । आकाशका झिलिमिली ताराहरूजस्तै लाखौ बिजुलीबत्ती थिए । भेडाका हूलजस्तै गाडीहरू लामका लाम थिए । मान्छेहरू गोरा र चिल्ला थिए । आधा शरीरमात्रै छोपेका आइमाईहरू थिए प्रशस्तै । केटीहरू गोरा, चिल्ला र राम्रा राम्रा थिए । कोही रूपाजस्ता पनि थिए । तर रूपाभन्दा राम्रा कोही थिएनन् ।
अहँ, मेरो मन बम्बैमा बसेन ।
एक दिन मितबालाई भने, म बम्बैमा बस्दिनँ ।'
पूजा गर्ने के छ, के थाहा छ र ?
म मधेसमा गएर पढ्छु ।'
लौ, जा त राम्ररी पढ्नु एक-दुई मैनाको बादमा चिठी पठाउँदै अर्नू मितबाले सावनको मैनामा चन्द्रे खत्रीसँग मलाई रेलमा चढाइदिए । म मधेसमा आएर पढ्न थाले । थारू गाउँको बसाइ असाध्यै नियास्रो लाग्ने खालको हुन्थ्यो । पटकपटक सम्झना हुन्थ्यो- रूपाहरू अझै पीपलचौरमा बिहे खेल्दै छन् कि ? एक दिन साथी कमलले फिलिम हेर्न जाऊँ कि जाऊँ भनेर कर गयो । जब फिलिम हेरेर फर्किएँ, मैले आफूलाई रोक्नै सकिनँ । म असाध्यै रोएँ त्यस दिन । रूपाको सम्झनाले म पानीपानी भैसकेको थिएँ ।
जसोतसो चार वर्ष पढेर जब म घर फर्किएँ, आमाले भन्नुभो तेरा साथीहरू सबैले बे अरिसके। रूपा, शान्ति, मालती, जैभाने, गोरे सबैको बे भैसक्यो । अब यै मङ्सिरमा म पनि ब्वारी ल्याउँछु। बे अर्ने उमेर भैसक्यो तेरो ।"
म छाँगाबाट खसे । 'रूपाको बे भैसक्यो भन्ने आमाको वाक्य कानमा गुन्जिरह्यो। के रूपाको साँच्चिकैको बिहे भैसक्यो ? उतिखेर तँसँग मात्रै बिहे गर्छु भन्ने रूपाले ऐले किन अर्कैसँग बिहे गरी ? किन क्यै नभनेर चुपचाप बिहे गरी ? मेरो मथिङ्गलमा सयौ बारूले प्रश्नहरू रिडिरहे । मेरा लागि पीपलचौरको सम्झना तीतो भएर आयो । केटौले उमेरदेखि नै पलाएको बिहे गर्ने रहर मरेर गयो । मनमा विरक्ति लागेर आयो।
कॉइली फुपू भन्नुहुन्थ्यो- बावै, समयमै लाको खेती राम्रो, बैसमै भाका छोराछोरी राम्रा । उमेरमै बिहे गर्नुपर्छ । तेरा दौतरीहरू कोई पनि बाँकी छैनन् अब ।"
बिहेको कुरा उठ्दा मेरो मनमा रूपाको सम्झना गाढा भएर आउँथ्यो । रूपाले गरेको विवाह पीपलचौरमा जैभानेसँग गरेको जस्तो ख्यालख्याली थिएन । अब उसको साँच्चिकैको बिहे भैसक्यो । ऊ अब आफूमाथि चढ्न आउने जैभानेलाई हिर्काएजस्तै आफ्नो लोग्नेलाई लात्ताले हिर्काउँदिन होली । ऊ आफ्नो लोग्नेलाई छोडेर मेरो हात समाउन आउँदिन होली। मसँग उसको बिहे अब कहिल्यै हुँदैन । हामी साँच्चिकैको बिहे पछि गरौला भनेको थिएँ । त्यो पछि आएकै थिएन। किन रूपाले अर्कैसँग बिहे गरी ?
मेरो मन सारै उदास भएर आयो। बिहे गर्ने रहर त्यागे। म पढ्न काठमाडौ गएँ । बिदाको बेलामा कहिलेकाही घर आउँदा पनि आमाको उही करकर सुनिन्थ्यो- बरू आफ्नै इच्छा लागेको केटीसँग गर् तर यो मङ्सिरसम्म पनि तैले बिहेचाहिँ गरिनस् भने म जोगिनी हुन्छु । कहिले पनि घर फर्किन्नँ बुझिस् कुरो ।"
दशैंको तेस्रो दिन आमालाई भनें- तेसो भए काइँला भण्डारीकी छोरीको कुरा गर्न जानोस् ।"
आमा जानुभयो ।
केटाकेटीको चित्त बुझियो भने पढेलेखेको केटोलाई छोरी नदिनु के छ र ? तुम्रा छोरालाई छोरीसँग कुरा गर्न आजै पठाइदेऊ ।"
काइँला भण्डारीले आमालाई त्यसो भनेर पठाएपछि म त्यसै दिन सृष्टिसँग कुरो छिन्न गएँ । कुरैकुरामा उसले नढाँटीकन भनी "म आफ्नो ब्वाइफ्रेन्डलाई छोड्न सक्तिनँ । त्यो कुरा मञ्जुर छ भने मात्र म तिमीसँग बिहे गर्छु, नत्र गर्दिनँ ।"
धन्य सृष्टि । धन्य सम्बन्ध !
जमाना कहाँको कहाँ पुगिसकेछ । मलाई जिन्दगी ख्यालख्यालकै हो कि जस्तो पनि लाग्यो । सृष्टिले मसँग ख्यालख्यालको बिहे गर्नेजस्तो कुरा पो गरी। हाम्रो पीपलचौरको बिहेजस्तो । ख्यालख्यालको बिहे त हामीले पीपलचौरमा गरिसक्याथ्यौ नि । के अब यो उमेरमा पनि ख्यालख्यालको बिहे गरिन्छ र ? सायद विवाह र सम्बन्धमा समयले खेलाची गर्न सुरू गरिसक्यो कि ? सृष्टिको कुराले मलाई नराम्ररी झस्कायो ।
'शहरबाट नै विवाह गरेर म हजुरका लागि राम्री ब्वारी ल्याइदिउँला हिंड्ने बेलामा आमासँग यत्ति भनेर म चाँडै काठमाडौं फर्किएँ ।
***
लगातार चार वर्ष काठमाडौमा बसेपछि पीपलचौरमा हामीले खेल्ने गरेका ग्रामीण खेलहरू मैले प्रशस्तै देखें। सायद बाललीलाहरू पनि शहरमा पसेपछि प्रौढ भए कि जस्तो लाग्यो ।
एक दिन मैतीदेवी मन्दिरको फलामे बेन्चमा झोक्राएको थिएँ । बैस विस्फोट होलाजस्ती नवयौवनालाई पिठ्यूँमा बोकर एक अधबैसे पुरुषले गेटनेरै मोटरबाइक रोक्यो । अधबैसेको पिठ्यूँमा बेसरी घोचिरहेका उसका स्तनहरू मोटरसाइकलबाट ओर्लिएपछि उछिट्टिए । एक-अर्काको हात समातेरै पुरुष र युवती मन्दिरका अगाडि उभिए । मूर्तिहरूलाई प्रणाम गरे । टीका लगाएर एक- अर्कालाई अङ्कमाल गरे । उनीहरू फर्किन लाग्दा मैले गौर गरे- धन्य भगवान् ! ती अधबैसे पुरूष कोल्टीपाखाका मल्ल काका थिए । उता काकी दुखजिलो गरेर गाउँको बिँडो थामिरहेकी थिइन् । ती युवतीभन्दा उमेरदार उनका छोरीहरू थिए तर जागिर खान काठमाडौंमा बसेका मल्ल काकाको खेल भने अर्कै थियो । ती युवती मल्ल काकाको जागिर र पैसामा यौवनको खेल खेल्दै थिइन् ।
मल्लेनी काकीलाई सम्झे "वैवाहिक खेलकी ख्यालख्यालकी पात्रजस्ती बिचरी ।
रत्नपार्कको छेउ लागेर साँझ अबेरतिर कोठामा फर्किदै थिएँ । भित्तामा अडेस लागेकी एक युवतीलाई एउटा लाठेले च्यापेको देखें- 'डार्लिङ भोलि त ब्यानैदेखि रिल्याक्स गर्न जाने ल
युवकको प्रस्तावमा 'हस् भन्ने उसको मसिनो प्रत्युत्तर सुनें । बिस्तारै अघि बढ्दै थिएँ । पछिबाट आउने त्यही युवती लमकलमक गर्दै अघि बढ्दा पो बल्ल चिने । आम्मै, त्यो त च्युराघरे पारू दिदी पो रै'छे । च्युराघरे पारू तीन वर्षअघि नै पढ्न काठमाडौं आएकी थिई । काठमाडौंमा ऊ प्रियलता भएकी रैछे । यतै बिहे गरिछे उसले । उसको श्रीमान् दुई वर्षदेखि दुबईमा छ, कमाउन गा'को रे। यता प्रियलताको अर्कै खेल देखें । यो खेल ख्यालख्यालकै हो कि साँच्चिकैको हो, छुट्याउनै सकिनँ ।
मानसिक र शारीरिकरूपमा थाकेर अबेर कोठामा पुग्दा कहिलेकाही वसुधा भाउजू भान्साबाटै कराउँथिन्- बाबू, खाना मैले पकाइसके । कोठामा पकाउनुपर्दैन । सधै होइन, कहिलेकाही । घरकी धनी वसुधा भाउजू खाना खान बोलाउँथिन् । उनका श्रीमान् दुई वर्षदेखि कोरियामा थिए । सानो छोराको साथमा उनी माथिल्लो तलामा बस्थिन् । म थिएँ एक वर्षदेखि भाडामा । समवयस्कका कारण मसँग निकट व्यवहार थियो उनको । सङ्कोचहरू दूर थिए । आत्मीयता निकट थियो, किन-किन ।
एक वर्षको बसाइँ त्यति लामो होइन तथापि हृदयको सानिध्यता उनका लागि ठूलो आधार भएको कुरा उनका व्यवहारबाट म सहजै अनुमान लगाउन सक्थे । एक दिन यस्तै आत्मीयतापूर्वक पाइन्ट खोल्न लगाइन् उनले ।
पाइन्ट खोल्न लगाएर के त ?
केही होइन । मैलिएको पाइन्ट खोल्न लगाएर उनैले धोइदिएकी थिइन् । यतिसम्म थियो, वसुधा भाउजूको आत्मीयता ।
शनिबारको दिन म दिपेशसँग चाँगु गएको थिएँ। नास्ताको पैसा तिर्न भनेर पर्स खोलेको मात्रै के थिएँ, चकित परे। पर्समा एक-एक हजारका पाँचवटा नोट सजिएका थिए । कहाँबाट कसरी आयो पर्समा यत्तिका पैसा ? कसले राखिदियो ? भगवान्ले राखिदिए कि ? दिपेशसँग भनें, उसले पत्याएन । पैसा देखाएपछि चाहि उसले जिस्क्यायो-
'कतै मोजमा त छैनस्, अबे केटा ?
'के मोज ? कस्तो मोज ?
"ओइ केटा, लभ चक्करमा त छैनस्, कतै ?
'लभ चक्करबाट के तलब आउँछ रे बेबकुफ ? "आउँछ रे केटा, आउँछ । मलाई लाग्छ, तँ मोजमा छस् ।"
कस्तो मोज ? के मोज ? भन् न यार ।"
"अरे बेबकुफ तलबवाला लभ अर्कै हुन्छ । मोज लभ ।"
उसले भन्दै गयो ऊ जहाँ-जहाँ बस्यो, त्यहीका घरपट्टिसँग उसको मोज लभ भयो । तरूनी श्रीमतीलाई छोडेर उनीहरूका श्रीमान् विदेश गएका हुन्थे । हामीले पीपलचौरमा आ-आफ्ना श्रीमतीलाई छोडेर बम्बै गएजस्तो । तरूनी घरपट्टिहरूसँग बेडलभ भएपछि पैसाको टन्टा आफैं हराएर गयो । कुनै महिना, कुनै दिन पनि उसलाई पैसाको अभाव खड्केन । घरमा बस्ने अवधिसम्म खूबै माया दिन्छन् । खर्चको अभाव हुनै दिँदैनन् । कुनै समयपछि उनीहरूका श्रीमान् आउँछन् अथवा उनीहरू स्वतः यौन पार्टनर फेर्छन् ।
उसले भनेको रोमाञ्चक रहस्यमा म रूमल्लिएँ उसले आफ्नो अनुभव भनिसक्दा मलाई 'सुइयै गर्न मन लाग्यो। धन्य जिन्दगी। धन्य प्रेमको लीला । अहो । कस्तो खेल ।
मैले आफ्नो बाल्यकालीन पीपलचौरको खेललाई सम्झे । रूपा नचाहिकनै जैभानेसँग बिहे गर्थी । तर साँचो प्रेम मलाई गर्थी ऊ। म नचाहीकनै शान्तिसँग बिहे गर्थे तर साँचो प्रेम रूपालाई गर्थे। त्यो अनमोल र स्वर्गीय खेलको अन्त्य कसरी भयो ? थाहै भएन । यस्तै यस्तै अनमोल लीलाहरूको लेखोट नै त रै'छ यो जीवन ।
घरधनी आइमाईहरूसँग भएका दिपेशका मोज लभका रोचक कुरा सुनेपछि पर्समा पैसा राखिदिने शङ्काको घेरामा मैले वसुधा भाउजूलाई राखें ।
म कोठामा पुग्दा अथवा घरैमा बस्दा उनको अनुहार सधै हँसिलो र स्वभाव फरासिलो हुन्थ्यो । मेरो अगाडि चञ्चल भएर सधै चलायमान रहन्थिन् उनी ।
'वसुधा भाउजूले नै हुनुपर्छ पर्समा पाँच हजार राखिदिएको ।", आफ्नै मनसँग भने मैले तर दिपेशसँग भनिनँ । उस्तै अबेर गरेर फर्किने क्रममा मानसपटलमा वसुधा भाउजू नाचि रहिन्, हाँसिरहिन् ।
'कति पढाइमा मात्र झोक्राइरा'को, कैलेकाँही फ्रेस पनि त हुनुपर्छ नि । भाउजूलाई फिलिम हेर्न लैजाने कुरै गऱ्या होइन आजसम्म । केही दिनअघि जिस्केर भनेकी थिइन् उनले । वसुधा विम्बित हुँदै थिइन् अहिले बाटोमा र उनको आवाज पनि । भनेको थिएँ त्यस बेला- 'पढ्ने विद्यार्थी, काँबाट पैसा पाउनु भाउजू ?
"आँट गरे दैवले पुऱ्याउँछ नि । तँ आँट्, म पुन्याउँछु भन्ने त उखानै छ नि । आँट भए पो लुरे बाबुको । यसो भन्दा खितखिताएर हाँसेकी थिइन् उनी ।
म सिटीबसमा थिएँ । एउटा मनले सोच्यो कतै आफूलाई फिलिम हेर्न लैजाने आँट दिनकै लागि मेरो पर्समा पैसा राखिदिइन् कि ? छेउमा उभिएकी महिलाको 'उता सर्नुस् न । भन्ने आवाजले झसङ्ग भएँ। हैं. वसुधा भाउजू ।', झन्नैले भनिनँ ।
साँझपख अबेर गरी घर पुग्दा वसुधा भाउजू भान्साबाटै फेरि कराएको सुने- बाबू खाना मैले नै पकाइसकें, कोठामा पकाउनु पर्दैन । वसुधा भाउजूका अघि उभिएर भने- 'भगवान्ले मेरो पर्समा पाँच हजार राखिदिएछन् नि भाउजू !"
उनका लागि आश्चर्यको कुरा थिएनछ यो। अचम्म मानिनन् । 'त्यसो भए आँट्नु भो त लुरे बाबु ?" भन्दै उनी खित्का निकालेर हाँसिन् । म लुरे थिइनँ । तर उनले किन लुरे भनिन् ? उनले फिलिमको कुरै गरिनन् । केवल 'आँट्नु भो त बाबु" भनिन् । के आँट्ने होला मैले ? उनको उन्मुक्त र चुनौतीपूर्ण हाँसोको प्रत्युत्तर नदिई म भान्साबाट कोठामा भागें ।
कोठामा पस्दा बिस्तरा सुतेकै थियो । ओछ्यानमाथि पल्टेर कोल्टो फर्किंदा सम्झनाको गहिरो खाडलमा रूपा तैरिदै थिई। जैभानेलाई लात्तीले हिर्काएर दायाँ हात समाउन आइपुग्छे कि जस्तो लागिरह्यो। म तँसँग मात्तै बे गर्छु के, त्यो फोक्सेसँग गर्दिनँ। उसका कलिला शब्द फेरि एकपटक दिमागमा गुञ्जिए । दायाँ हात हेरें । केही थिएन। खाली थियो
मथिङ्गलमा आमाको चर्को आवाज गुञ्जिएकै थियो यो मङ्सिरमा तैले बे गरिनस् भने म जोगिनी हुन्छु, बुझिस् कुरो । कैले पनि घर फर्किन्नँ ।
गिदीको सेतो पानामा ऐले भर्खरकी वसुधा भाउजूले ठाउँ बनाइसकेकी थिइन् । उनको गुलाबी खिलखिलाहट र "आँट्नु भो त लुरे बाबु भन्ने आवाज कानमा रन्केकै थियो । बारम्बार दिमागमा ठोक्किन आउने यी आवाजहरूबाट कोसौ टाढा भागेर जाऊँ कि जस्तो लाग्यो । जीवनको यो खेलबाट हात खडा गरेर अलप हुने मन भएर आयो ।
***
धन्य भगवान् । म फेरि उही पीपलचौरमा थिएँ। मलाई एकपटक फेरि उही जिन्दगी वापस मिलेको थियो उही रूपा वापस मिलेकी थिई ।
यो कसरी सम्भव हुन सक्छ ?
झूट ?
तर बिलकुल म त्यही क्षणमा थिएँ । त्यो जिन्दगी मलाई वापस मिलेको थियो । उही कलिलो र मायालु अनुहारमा रूपा मेरो सामुन्ने आई । उनै दायाँ हातका कलिला दुई औला समातेर रुन्चे स्वरमा भनी "म हजुरलाई कति माया गर्छु । हजुरलाई कति चाहन्छु । मलाई अब धेरै नतड्पाऊ मेरो मायालु । मेरो राजा ।"
निधार र कपालमा जब उसका कलिला औलाहरू चल्न थाले, कम्पायमान् र जागृत उसका ओठको न्यानो उच्छवासमा जब म निस्सासिन थाले- निद्राबाट झल्याँस्स भएँ ।
कठै मेरो भगवान् । झूटो भ्रम । मेरो ऊ जिन्दगी थिएन । म पीपलचौरमा थिइनँ । ऊ रूपा थिइन । म उही भाडाको कोठामा थिएँ र रूपा रूपमा आएकी उनी थिइन्- वसुधा भाउजू ।
आवाज उनैको थियो । हात उनैको थियो। औलाहरू उनैका थिए । मेरो सामुन्ने तातो सास उनैको थियो । मदहोस शरीर उनैको थियो। मेरा सामुन्ने अग्ला शिखरहरू थिए । म भासिँदो खोचमा थिएँ । उफ् । वसुधा भाउजू !
शिखर चुम्ने मेरो सपना थिएन । सामुन्नेका अग्ला शिखरहरू नचढीकनै मैले यौवनको युद्धबाट भाग्न चाहे । प्रेमको खेलबाट हात खडा गर्न चाहे । ट्वाइलेट जाने बहानामा म फुत्कें । वसुधा भाउजूको अवस्थालाई कल्पना नगरीकनै म भाडाको कोठाबाट भागे। उनको तातो सास कति बेला चिसो भयो होला । "अर्को जुनीमा नपुंसक भैजाएस् भनेर अवश्य श्राप दिइन् होला उनले । त्यस रात पाँच हजारको ऋण नतिरीकनै म भागें, वसुधा भाउजूबाट । फर्केर कहिल्यै गइनँ उनका सामुन्ने । 'थुक्क साला' भन्यो दिपेशले पनि मलाई । स्याबासी पाउनु पनि थिएन । म भागे, खेल मैदानबाटै । मलाई खेल जित्नु पनि थिएन ।
पूरा चौध वर्ष भयो गाउँमा फर्किआएको पनि । बाइ वर्षदेखि उही पीपलचौरमा छु । आज पीपलचौरमा विद्यालय छ । जहाँ म पढाउन थालेकै दश वर्ष भयो । मेरी सानी छोरी हात समातेर टुकुटुकु त्यही स्कुलमा पढ्न जौदै छे आज ।
जहाँ रूपाका पदचापहरू छन्, त्यो ठाउँमा स्कुल भवन बनेको छ आज । सुनेको छु- रूपा विकट गाउँमा नङ्ग्रा खियाउँदै छे, आज पनि । मावलमा बसेर रूपाको सानो छोरो आज यही स्कुलमा पढ्दै छ । ठ्याक्कै रूपाकै जस्तो अनुहार छ उसको । हात र औलाहरू उस्तै छन् । नाक र निधार रूपाकै लिएर आको छ उसले । लाग्छ, रूपाका कलिला पदचापहरूमाथि उसको कलिलो प्रतिविम्ब खडा छ ।
आज छुट्टीको दिन । म बिहानैदेखि पीपलचौरको ठूलो ढुङ्गोमा बसेर यो कथा लेख्दै छु । अहिले एक हूल केटाकेटीहरू पीपलचौरको धुलोमा खेलिरहेका छन् । कोही ढुङ्गाका गट्टा र बार्रा खेल्दै छन् । कोही खिलखिलाउँदै ढुङ्गामा चिप्लेटी खेल्दै छन् । आँखामा पट्टी बाँधेर लुकाचोरी खेल्दै छन् कोही । अघि मेरो हात समातेर जहाँ रूपा उभिन्थी, त्यो ठाउँमा मेरी सानी छोरी आफ्ना कलिला हातका अँजुलीमा माटो खेलाउँदै छे । अलि पर ढुङ्गाका टुक्राहरू बटुलेर रूपाको छोरो घर बनाउँदै छ । घरी मेरी छोरीले उसको घरमा माटोको धुलो खन्याएको देख्छु । घरी रूपाको छोराले मेरी छोरीको कलिलो हातमा ढुङ्गाका टुक्राहरू थमाएको देख्छु ।
मलाई लाग्दै छ- उनीहरूले आफ्नो संसारको अधुरो घर बनाएर जीवनभरि नबिर्सिने दुःखको सुरूवात गर्दै छन् । पीपलचौरको खेल कैले नटुङ्गिने खेल होजस्तो लाग्दै छ ।
रूपाको छोरो र मेरी छोरीको कलिलो अनुहार पढेर म बुझ्दै छु पीपलचौरको यो धुलोमा
आधा रूपा र आधा म आज पनि पिरतीको अधुरो घर निर्माण गर्दै छौ।
***
(साभार: बि.सं.२०७२ सालको मदनपुरस्कार बिजेता कथा सङ्ग्रह 'ऐना' बाट)