पाठशाला न्यूज
 २०८१ श्रावण ५, शनिवार    

अन्तरिक्षमा बढ्दैछ फोहोरको थुप्रो

२०८० भाद्र २९, शुक्रवार १०:३४ बजे

एजेन्सी–पृथ्वीमा त फोहोर भरिएकै छ, तर मानिसले गरेको फोहोरबाट अन्तरिक्षसमेत अछुतो रहन सकेन । अन्तरिक्षमा समेत निरन्तर रुपमा फोहोरको मात्रा बढिरहेको छ ।
अहिलेसम्म करिब साढे ६ हजार रकेट अन्तरिक्षमा प्रक्षेपण भएका छन् । जसको फलस्वरुप पृथ्वीको कक्षमा रकेट तथा स्याटेलाइटलगायतका मानवीय फोहोरको रास बढिरहेको छ ।
युरोपियन दक्षिणी अब्जर्भेटरीका अनुसार सन् २०३० सम्ममा स्याटेलाइट परियोजनाहरुको संख्यामा तीव्ररुपमा वृद्धि भई ७५ हजारभन्दा धेरै हुनेछन् । यस्ता प्रत्येक प्रक्षेपणसँगै अन्तरिक्षको फोहोर बढ्नेछ ।
कति फोहोर छ अन्तरिक्षमा ?
कम्बाइन्ड फोर्स स्पेस कम्पोनेन्ट कमान्डले अन्तरिक्षमा मानिसले के गरिरहेको छ भन्ने कुराको निगरानी गर्ने गर्दछ । उसले एउटा यस्तो सूची बनाएको, जसमा फरक–फरक खालका अन्तरिक्ष फोहोरहरु सामेल छन् ।
वैज्ञानिकहरुले एउटा यस्तो तरिका तयार पारेका छन् जसमा तीन किलोमिटर प्रति सेकेण्डको गतिमा घुमिरहेको १० सेन्टिमिटर आकारको वस्तु समेत ट्रयाक गर्न सकिन्छ ।

यसका अलावा पनि धेरै यस्ता फोहोरका टुक्राहरू अन्तरिक्षमा छन् जसका बारेमा मोटो अनुमान मात्रै गर्न सकिन्छ ।
लिडार (राडार तथा अप्टिकल डिटेक्टरबाट बनेको वस्तु) नामक उपकरणबाट लगातार यस्ता वस्तुहरु ट्रयाक गर्ने गरिएको छ, जसले ती वस्तुहरु कहाँ र कुन गतिले गईरहेका छन् भन्ने पत्ता लाग्दछ ।
कुन–कुन आकारका कति वस्तु छन् ?
हाल अन्तरिक्षमा पृथ्वीको कक्षमा घुमिरहेका १० सेन्टिमिटर वा त्यसभन्दा ठूलो आकारका वस्तुहरुको संख्या १० लाखभन्दा धेरै छ । त्यस्तै एक देखि ९ सेन्टिमिटरसम्मका १३ करोड भन्दा धेरै टुक्रा रहेका छन् । यी वस्तुहरु रकेटका टुक्रादेखि पेन्ट र मलमुत्र समेत हुन सक्छन् ।
भलै यिनको आकार सानो हुन्छ, तर यिनीहरु बन्दुकको गोलीभन्दा पनि तीव्र गतिमा घुमिरहेका छन् । यसबाट कक्षमा ठूलो खतरा पनि उत्पन्न हुनसक्छ ।
कहाँबाट आउँछन् यति धेरै फोहोर ?
स्पेस मिसनको सुरुवात देखि लिएर अहिलेसम्म सबै देशहरुले धेरै खालका सफलता तथा असफलता भोगिसकेका छन् । यी दुवै सन्दर्भमा एउटा कुरा भने उहीँ हुन्छ, त्यो भनेको अन्तरिक्षमा फोहोरको मात्रा बढ्दछ । कैयन् पटक स्याटेलाइट बिग्रेका छन् त कहिले दुर्घटनाको सिकार भएका छन् । त्यस्तै कहिले यानहरुले अचानक काम गर्न छाड्छन् र पत्रु बन्दछन् । केही स्याटेलाइटहरु रकेट बुस्टरयुक्त हुन्छन् जो पछि अन्तरिक्षमै छाडिन्छ ।
त्यस्तै एन्टी स्याटेलाइट हतियारले पनि फोहोर फैलाइरहेको छ । एस्याट भनिने त्यस्ता हतियार पृथ्वीको तल्लो कक्षमा रहेका भूउपग्रहलाई नष्ट गर्नका लागि प्रक्षेपण गरिने मिसाइल हुन् ।
अहिलेसम्म अमेरिका, रुस, भारत तथा चीनले एस्याट प्रक्षेपण गरिसकेका छन् । यस्ता मिसाइलले स्याटेलाइटलाई नष्ट गर्छन् र त्यसक्रममा अन्तरिक्षमा ठूलो परिमाणमा फोहोर सिर्जना हुन्छ ।
कति खतरनाक छ अन्तरिक्षको फोहोर ?
पृथ्वीको फोहोरभन्दा कैयन् गुणा धेरै खतरनाक अन्तरिक्षको फोहोर हुनसक्छ । पृथ्वीको कक्षमा हरेक चिजहरु निकै तीव्र गतिमा घुमिरहेका हुन्छन् । १ सेन्टिमिटर आकारको सानो टुक्रा पनि करीब एक हजार किलोमिटर प्रतिघण्टाको गतिमा घुम्दछ । यस्तोमा यदि कुनै पनि स्याटेलाइटसँग त्यो टुक्रा ठोक्कियो भने त्यसबाट गम्भीर क्षति हुनसक्छ । यस्तो घटना भैसकेको पनि छ । सन् २०२१ मा चिनियाँ मौसमी स्याटेलाइटको टुक्रा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसँग ठोक्किएको थियो । यसबाट स्टेशनमा एउटा प्वाल नै परेको थियो । त्यस्तो क्षति निकै ठूलो पनि हुनसक्थ्यो ।
समय यस्तो पनि आउनेछ

अन्तरिक्ष फोहोरको खतराका बारेमा बताउँदै वैज्ञानिकहरुले केसरल सिन्ड्रोमसम्मको चर्चा गर्न थालेका छन् । नासाका वैज्ञानिक डोनाल्ड केसलरले सन् १९७० को दशकमा भनेका थिए कि अन्तरिक्ष फोहोर लगातार घुम्ने क्रममा अर्को कुनै वस्तुसँग ठक्कर खान्छ र जुन वस्तुसँग त्यो ठोक्किन्छ त्यसलाई समेत फोहोर बनाउँछ । अनि त्यसरी एकपछि अर्को गर्दै लगातार भैरहने टकरावले अन्तरिक्षमा फोहोरको मात्रा निरन्तर बढिरहन्छ । भविष्यमा यस्तो घटनाक्रमबाट एउटा यस्तो समय पनि आउन सक्दछ जहाँ पूरै अन्तरिक्ष फोहोरले भरिएर कुनै ठाउँ नै बाँकी नरहन सक्दछ ।
साझा अन्तरिक्ष, बढ्दो समस्या
बाह्य अन्तरिक्ष सन्धि सन् १९६७ अनुसार चन्द्रमा वा अन्तरिक्षको कुनै पनि हिस्सामा कुनै व्यक्ति वा देशमात्रको अधिकार हुँदैन । यसको फलस्वरुप अन्तरिक्षमा पुग्न र त्यहाँ फोहोर फैलाउनका लागि सबै देशहरु प्रयासरत छन् । तर अन्तरिक्षको सफाइँको जिम्मेवारी कसैले पनि लिन चाहँदैन ।
यस्तो परिस्थितिलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले अन्तरिक्ष मिसन पठाउने सबै मुलुक तथा कम्पनीहरुलाई आफ्नो मिसन समाप्त भएको २५ वर्षभित्र आफूले सिर्जना गरेको अन्तरिक्षको फोहोर सफा गर्न भनेको छ ।

विभिन्न देशहरुले आफ्ना नष्ट भैसकेका वा काम गर्न छाडिसकेका स्याटेलाइटहरुलाई अन्तरिक्षमै नष्ट गर्नुको साटो पृथ्वीमा ल्याउन थालेका छन् ।
पृथ्वीमा कहाँ जम्मा हुँदैछ अन्तरिक्षको फोहोर ?
बिग्रिएका स्याटेलाइटलाई पृथ्वीमा फिर्ता ल्याएर निमो विन्दुमा जम्मा गर्ने गरिएको छ । प्रशान्त महासागरस्थित दक्षिण अमेरिका, अष्ट्रेलिया तथा न्युजिल्याण्डको बीचमा भर्ने उक्त क्षेत्रलाई महासागरीय केन्द्र पनि भनिन्छ । त्यहाँबाट कुनै जमिन वा मानव वस्तीसम्म पुग्न सहज छैन । अंग्रेजीमा यसलाई पहुँचहीनताको सामुद्रिक ध्रुव अर्थात् पुग्न नसकिने समुद्रको बीच भाग भनिन्छ ।
त्यहाँबाट चारैतर्फ कम्तिमा पनि हजार माइलको दूरीसम्म समुद्र नै फैलिएको छ । अहिलेसम्म त्यहाँ १०० भन्दा धेरै स्याटेलाइटको कवाडी जम्मा भैसकेको छ र सन् २०३१ मा इन्टरनेसनल स्पेस स्टेसनले काम गर्न छाडेसँगै त्यसलाई समेत निमोमा ल्याएर व्यवस्थापन गरिनेछ ।
किन प्रभावकारी भएन सन्धि ?
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आर्टेमिस सम्झौता पनि तयार गरेको छ जसमा अन्तरिक्षलाई सफासुग्घर तथा शान्त बनाउने कुरा गरिएको छ । विभिन्न २८ वटा देशले उक्त सम्झौतामा हस्ताक्षर पनि गरेका छन् । तर रुस र चीन उक्त सम्झौताको हिस्सा बनेका छैनन् । र, सबैभन्दा ठूलो समस्या भनेको निजी कम्पनीहरु यसमा सामेल नहुनु पनि हो । यस्तो परिस्थितिमा अन्तरिक्षमा फोहोरलाई कम गर्नु कठिन देखिन्छ ।