पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

२०८० भाद्र २७, बुधवार ०८:४० बजे

काठमाडौं–एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको छ । जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतलाई ४०.१ ओभरमा २१३ रनमा अलआउट गर्दै श्रीलंकाले एक खेलअघि नै फाइनलको ढोका खोल्ने सम्भावना देखाएको थियो । तर, २१४ रनको मध्यम लक्ष्य पूरा गर्न श्रीलंका असफल रह्यो । अलराउन्डर दुनिथ वेल्लालागे र धनञ्जय डिसिल्वाका अलावा कुनै पनि श्रीलंकन ब्याटर भारतीय बलिङका सामु टिक्न सकेनन् ।
श्रीलंकालाई ध्वस्त बनाउन भारतका कुलदीप यादवले चार विकेट लिए । उनले अन्तिम दुई विकेट लगातार दुई बलमा लिएका थिए । श्रीलंकाले भने लगातार तीन बलमा तीन विकेट गुमाउन पुग्यो ।
त्यसअघि भारतले कप्तान रोहित शर्माको ५३ रनको मद्दतमा अलआउट हुनुपूर्व २१३ रन बनाएको थियो । एक दिनअघि पाकिस्तानसँग विशाल रन अन्तरले विजयी भएको भारतलाई सामान्य लक्ष्यमै रोक्ने क्रममा अलराउन्डर दुनिथले पाँच विकेट लिएका थिए ।