पाठशाला न्यूज
 २०८० मंसिर १६, शनिबार    

देशभरका शिक्षक कर्मचारीहरू सडक आन्दोलन गर्दै

२०८० आश्विन ३, बुधबार ०७:५९ बजे

काठमाडौँ–देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गदै छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्न लागेका हुन् । त्यसका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका हुन् ।
नेपाल शिक्षक महासङ्घको आह्वानमा उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेका हुन् ।
महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।
महासंघले आन्दोलनका कारण प्रभावित भएको पठनपाठन पछि अतिरिक्त समयमा पढाएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन आग्रह गरेका छन् ।

यता विभिन्न सरोकारवाला निकायले आन्दोलन नगर्न भनेका छन् । नेपाल नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघले आन्दोलन नगर्न भनेको हो । असहमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न सकिने भन्दै उनीहरूले आन्दोलनको विकल्प खोज्न आग्रह गरेका हुन। सरकारले समेत वार्ताका लागि आह्वान गरेको छ । तर, शिक्षक कर्मचारीले अब वार्ताको कुन अर्थ नरहेको बताएका छन् ।